बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु

काठमाडौं, चैत । बागलुङ  र प्युठान जिल्लाको सिमानामा लागेको एक होली मेलामा युवाहरुको दुई समूहबीच झडप हुँदा २ जनाको ज्यान गएको छ । झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ ।

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा आइतबार दिउँसो झडप भएको हो । 

मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए । आइतबार दिउँसो बडिगाड-१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड-१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ ।

यसैबीच नेपाली कांग्रेसले झडपमा मृत्यु भएका दुई व्यक्ति आफ्ना नेता तथा कार्यकर्ता भएको जानकारी दिएको छ। कांग्रेसको बागलुङ जिल्ला कार्यसमितिका सभापति दीपेन्द्रबहादुर थापाले सोमबार बिहान विज्ञप्ति जारी गरी झडपमा मारिएका प्रकाश कुँवर आफ्ना जिल्ला सदस्य तथा दीपक परियार सक्रिय कार्यकर्ता भएको जानकारी दिएका हुन्।

सुनियोजित रूपमा उनीहरूको हत्या गरिएको भन्दै कांग्रेसले दोषीविरुद्ध कडा कारबाही गर्न उनले माग गरेका छन्। साथै घटनामा ज्ञानु दमाईलगायत घाइते भएकाले उनीहरूको औषधि उपचारको व्यवस्था गर्न बागलुङ कांग्रेसले सरकारसँग माग गरेको छ।

यस्तो छ घटना विवरण :

बल्देधुरीमा प्रत्येक वर्ष होलीका दिन त्यहाँ नाचगान हुन्छ । आइतबार पनि बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० का युवाहरुको समूह त्यहाँ होली खेल्नका लागि बल्देधुरी चौरमा पुुगेको थियो ।यता निसिखोला गाउँपालिका–७ राजकुटका करिब २५ जना युवाहरुको समूह पनि मदिरा सेवन गरेर विभिन्न व्यक्तिहरुलाई अबिर दल्दै बडिगाड गाउँपालिका–१० दर्लिङ हुँदै बल्देधुरीतर्फ जाँदै थिए । सोही क्रममा राजकुटका युवाहरुले दर्लिङमा बन्दै गरेको भानु माविमा काम गर्ने मजदुरहरुलाई पनि कुटपिट गरे । सो समूहले दर्लिङकै केही स्थानीय युवाहरुलाई पनि कुटपिट गरेको बडिगाड गाउँपालिका-१० का वडाअध्यक्ष वीरेन्द्र बुढाले बताए ।

राजकुटका युवाहरुको समूह आफ्नो गाउँमा आएर आफ्नै युवाहरुलाई कुटपिट गर्न थालेपछि दर्लिङका स्थानीयहरु आक्रोशित थिए । यता, राजकुटका युवाहरुको समूह दर्लिङ गाउँ हुँदै बल्देधुरी चौरमा पुगे जहाँ दर्लिङका युवायुवतीको समूह पहिलेदेखि नै होलीका क्रममा नाचगान गरिरहेका थिए ।

राजकुटका युवाहरुको समूह बल्देधूरी पुगेपछि दर्लिङका युवा तथा युवतीहरूलाई अबिर दल्न थाले । युवतीहरूलाई सहमतिबिना अभद्र किसिमले जबरजस्ती अबिर दल्न थालेपछि त्यहाँ विवाद सुरु भयो । दुबै समूहका अधिकांश युवाहरुले मदिरासमेत सेवन गरेका थिए जसले विवादले झनै उग्ररूप लिन पुग्यो ।

राजकुटका युवाहरुको समूह आफ्नो गाउँमा आएर आफ्नै चेलीबेटीलाई अभद्र व्यवहार गरेको सुनेपछि दर्लिङका गाउँलेहरु भेला भएर बल्देधुरी पुगे । त्यसपछि दुबै समूहका युवा र गाउँलेबीच झडप भयो । सो झडपमा निसिखोला गाउँपालिका–७ राजकुटका युवाहरुलाई छानीछानी कुटपिट गरियो । केही युवाहरु त्यहाँबाट भागे । युवाहरुलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि राजकोटका दुईजना युवाहरु ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईलाई बल्देधुरी चौरको भीरबाट फालियो । दुवै युवाको मृत्यु भयो ।

Loading...