मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

विराटनगर, ९ फागुन । सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।

आइतबार बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो । उनीविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । मुख्यमन्त्री राईविरुद्ध ३७ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव पेश गरिएको छ ।

मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेश भएको हो । राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर ओली समूहले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै बैधानिकताबारे प्रश्न गर्दै आएको थियो । 

आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराएका थिए । तर, सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखे र उक्त बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ ।

अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् । अब अर्को बैठक फागुन २० गते दिउँसो १ बजे तोकिएको छ ।

Loading...