महानगरपालिकाद्वारा बुद्ध विहारलाई थप ७० लाख हस्तान्तरण


 माघ २४, काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदान दिएको छ ।

गत आर्थिक वर्षमा १ करोड रुपैयाँ अनुदान दिएको महानगरपालिकाले चालू आर्थिक वर्षमा सो रकम प्रदान गरेको हो । शनिबार राजधानीको भुकृटीमण्डपस्थित विहारको सभाहलमा आयोजित एक समारोहकाबीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर र कोषाध्यक्ष सुरेश महर्जनलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो।महानगरपालिकाको गत असारमा सम्पन्न नगरसभाले यस अघि सो रकम उपलब्ध गराउने प्रस्ताव पारित गरेको थियो ।

सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले संस्कृति, सम्पदा संरक्षणमा रकम अभाव भयो भनेर चिन्ता नलिन आग्रह गर्दै योजना लिएर आएमा महानगरपालिकाले सबैलाई यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरपालिकाकै सहयोगले हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, स्वयभ्भुस्थित आनन्द भुवन विहार पुननिर्माण भइरहेको जनाउँदै उहाँले स्वयम्भुस्थित ऐतिहासिक आनन्दकुटी विहारको पुनःनिर्माणमा १ करोड रुपैयाँ उपलब्ध गराउने बताउनुभयो ।

 महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले विहारमा पुनःनिर्माणमा महानगरपालिकाले सहयोग गर्न पाउँदा खुशी महशुस भएको बताउँदै यसले महानगरपालिकाप्रति अपनत्व र स्थानीय तहप्रति भरोसा वृद्धि हुने धारणा राख्नुभयो । संस्कृति सम्पदा र विकास निर्माणको क्षेत्रमा काम गर्ने विषयमा मेयरसंग सहकार्य गरेर नै आफू अघि बढीरहेको पनि उपप्रमुख खड्गीको भनाई रहेको छ ।

समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरले सर्वसाधारणको दाताहरुको सहयोगमा भइरहेको पुनःनिर्माणमा गत वर्ष र चालू आर्थिक वर्षमा गरी महानगरपालिकाले उपलब्ध गराएको १ करोड ७० लाख रुपैयाँले पुनःनिर्माणमा तीब्रता आएको बताउनुभयो। महानगरपालिकाको सहयोगले ढुक्कका साथ विहार पुनःनिर्माण गर्ने उत्साह र विश्वास पैदा गरेको पनि भिक्षु कौण्डन्यको भनाई रहेको छ ।

समितिका सहसचिव सुनील महर्जनले संस्कृति, सम्पदाप्रतिको संवदेनशीलताको दृष्टिले हेर्दा महानगरपालिकाले यस क्षेत्रमा गर्र्दै आएको अनुदान सहयोग, लिइएका नीति र योजनाहरु उदाहरणीय रहेको धारणा राख्नुभयो । महानगरपालिकाले सरोकारवालाहरुलाई उत्साहित तुल्याउँदै उच्च मनोबलका साथ संस्कृति र सम्पदा क्षेत्रमा गरेका कार्य अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बनेको पनि सहसचिव महर्जनको भनाई रहेको छ ।

 

सो विहार भूकम्पबाट क्षतिग्रस्त भएको थियो । ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको विहार नेपाली मौलिकसहित र कलात्मक शैलीमा निर्माण भइरहेको छ । करिब ५ करोड रुपैयाँ लागतमा पुनःनिर्माण भइरहेको छ । विभिन्न दाताहरुको सहयोगमा दुई वर्ष अघि सो विहारको पुनःनिर्माण कार्य शुरु भएको थियो । पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महानगरपालिकोको दोस्रो अनुदान रकमले निर्माणाधीन भवनसंगैको अर्को भवनको पुन ःनिर्माण गरिने छ । 

Loading...