आज पनि हिमपात र वर्षाको पूर्वानुमान

काठमाडौँ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा पनि हल्कादेखि मध्यमसम्म हिमपातको पूर्वनुमान गरिएको महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा ११ बजेपछि बदली हुने र २/३ बजेपछि वर्षा हुन सक्ने मौसमविद् निराजन सापकोटाले बताएका छन् । आज बिहानको मापनअनुसार काठमाडौँको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १८-२० डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।

पश्चिमी वायु सक्रिय हुँदा शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थियो ।

दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा र काठमाण्डौमा वर्षा भएको मौसमविद् सापकोटाले बताए । शुक्रबार सबैभन्दा धेरै डडेल्धुरामा १२ दशमलव २ मिलीमिटर पानी परेको थियो ।

Loading...