काठमाडौँ।काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले पुरातत्व बिभागले महानगपलिकालाई भन्दा पहिला सञ्चारमाध्ययमलाई कमल पोखरीमा भैरहेको निर्माण कार्य रोक्नु भनेर आदेश दिएको भन्ने बिषय जानकारी गराएर असहजता पैदा गर्ने कुरा गलत भएको बताउनु भयो । मेयर शाक्यले पुरातत्व विभागले निर्माण कार्य रोक्नु भनेर आदेश दिए पनि महानगरपालिकाले पालना नगरेको भन्दै समाचार आइरहेको भन्दै त्यसप्रति पनि ध्यानाकर्षण भएको बताउनुभयो ।
उहाँले कमलपोखरीको ड्रोइङ डिजाइन सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापाले पनि मेयरलाई पत्र पठाएको भन्दै सञ्चारमाध्यममा अनावश्यक प्रचार गरेको आरोप लगाउनुभयो । ‘मैले उहाँले पठाएको पत्र अहिलेसम्म प्राप्त गरेको छैन । मलाई पठाएको भनेको पत्र बारेको समाचार पढेर र सुनेर मात्रै थाहा पाएँ,’ उहाँले भन्नुभयो, ‘ पुरातत्वले काम रोक्नु भन्दा–भन्दै रातारात पोखरीमा डोजर चलाएको भनेर पनि समाचार आएका छन् । मैले ठेकेदारहरुसँग त्यो विषयमा जानकारी लिएको छु ।’
अहिले विभिन्न सञ्चारमाध्यममा कमलपोखरी मिचियो, त्यहाँ कंक्रिटको प्रयोग गरेर सम्पदा मास्ने काम भयो भन्ने जस्ता समाचार आइरहेको भन्दै सञ्चारमाध्ययममा आए जस्तो कमलपोखरीको जमिन १ इन्च पनि नमिचिएको उहाँले दाबी गर्नुभयो ।
उहाँले सम्पदा मासेर कंक्रिट प्रयोग भयो भनेर प्रचारप्रति पनि ध्यानाकर्षण भएको बताउनुभयो । ‘ हामीले त्यहाँ चार कुनामा मौलिकता झल्किने गरी सम्पदाको पनि संरक्षण गर्दै कला र संस्कृतिलाई जोड्ने गरी चार वटा मण्डप बनाउन खोजेका छौँ । केही कमजोरी भएको रहेछ भने हामी छफल गरेर समाधान गर्न तयार छौँ । ’पहिला पनि त्यहाँ सांसद थापालगायतको पहलमा विभिन्न चरणमा ढुंगा छाप्ने, सिँडी बनाउनेलगायतका काम भएको भन्दै त्यहाँ महानगरपालिकाले काम गर्नु भन्दा अघि नै कंक्रिट संरचना निर्माण भएको बताउनुभयो । ‘लामो समयदेखि ढलपोखरीका रुपमा रहेको सो पोखरी पुर्ननिर्माणसँगै त्यहाँका स्थानीय औधी खुशी भएका छन्,हामी अहिले पनि काम गर्ने सन्दर्भमा केही कमजोरी भएको रहेछ भने छलफल गरेर अघि बढ्न तयार छौँ । अहिले एकतर्फी रुपमा समाचार आउँदा त्यसले भ्रम पैदा भएको छ ।’

उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले पनि आफु काम रोक्नुर्पछ भन्ने पक्षमा नरहेको भन्दै समाधानको उपाय खोजी अघि बढ्नु पर्नेमा जोड दिनुभयो । ‘पोखरी बनाउनुपर्छ भन्नेमा मेरो कुनै असहमती छैन,’ उहाँले भन्नुभयो, ‘म प्राविधिक मान्छे होइन । त्यसैले त्यहाँका बारेमा विभिन्न खाले समाचार आएपछि र त्यहाँ आन्दोलन गर्ने साथीहरुले भेट्ने भनेपछि मैले भेट गरेको हो । उहाँहरुले भेटेर विज्ञप्ति दिनुभएको छ ।’







