प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ आज हुदै

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँने भएको छ ।
संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने निर्णय आज हुनेभएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन दिने १३ जनामध्ये ११ जनाले बृहत पूर्ण इजलासमा सुनुवाइको माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएकोमा कार्कीले इजलासमा नबस्ने यस अगाडिनै बताई सकेका छन् ।
प्रधानन्यायाधीश जबराले आजको इजलासमा कार्कीको ठाउँमा अर्का न्यायाधीश तोक्नु हुने सर्वोच्च अदालतले जनाएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेका अन्य पाँच न्यायाधीश रहने व्यवस्था रहेको छ । यही १० पुस गते अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।
यसै गरि प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथिको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सरकारी र निजी वकिल गरी बीस जना भन्दाबढीले बहस गर्ने भएका छन् । सरकारको पक्षमा बहस गर्न सरकारी वकिलको संख्या मात्र ११ जना रहेका छन्, भने बाकि नीजी रहने भएको छ ।

महान्याधिवक्ता कार्यालयका अनुसार महान्यायाधिवक्ता अग्नि खरेलले नेतृत्व गर्ने सरकारी वकिलको समूहमा चार नायब न्यायाधिवक्ता र अरू सहन्यायाधीवक्ता छन् । यही टिमले प्रधानमन्त्री, मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपति कार्यालय र संसद सचिवालयसमेतको पक्षबाट बहस गर्ने भएको छ ।

Loading...