नेकपा सचिवालयमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी सचिवालय बैठकमा दुई अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

बैठकका लागि यसअघि नै पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यसूची राखिएको थियो ।

यसअघि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक अन्तिम समयमा बालुवाटार सारिएको थियो । महासचिव विष्णु पौडेलले ‘सुरक्षा थ्रेट’ देखिएको भन्दै बैठकस्थल सारिएको सूचना सदस्यहरूलाई पठाएका थिए ।

नेकपाका दुई अध्यक्षले एक–अर्कालाई आरोप–प्रत्यारोप गर्ने गरी राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा राखेका छन् ।

प्रचण्डले गत २८ कात्तिकमा अध्यक्ष ओलीमाथि विभिन्नखाले गम्भीर आरोपसहित आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसको प्रतिउत्तरमा अध्यक्ष ओलीले यही १३ मंसिर शनिबार बसेको सचिवालय बैठकमा आफ्नो प्रतिवेदन राखेका थिए ।

त्यसपछि आजको बैठकमा सचिवालय सदस्यहरूले दुवै अध्यक्षहरूका प्रतिवेदनबारे आ–आफ्नो धारणा राखिरहेका छन् ।

दुई अध्यक्षको एक–अर्कामा आरोपले भरिएको राजनीतिक प्रतिवेदन बैठकमा प्रस्तुत भएपछि नेकपामा विवाद तथा आरोप–प्रत्यारोपको क्रम नेतृत्व तहमा देखिन पुगेको छ ।

गत ३ मंसिरको सचिवालय बैठकले १८ मंसिरमा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

Loading...