काठमाडौंको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन विकास गर्न आवश्यक

 

मङ्सिर१६, कास्की । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ र पोखराको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक रहेको बताएका छन् ।

पोखरा महानगरपालिका अवलोकन भ्रमणका क्रममा कामपाका प्रमुख शाक्यले काठमाडौंको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन प्रवद्र्धनको काम गर्न सके यस व्यवसायबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताएका हुन् ।

शाक्यले पर्यटनका माध्ययमबाट मुलुकको अर्थतन्त्रलाई उन्नत बनाउन समन्वय र अनुभव आदान–प्रदान आवश्यक रहेको बताए । ‘मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर हो । काठमाडौँ महानगरलाई मुर्त–अमुर्त सम्पदाले सुन्दर बनाएको छ,’ मेयर शाक्यले भने , ‘पोखरा प्रकृतिको सुन्दरताले धनी छ । यी दुई महानरबिच प्रकृति र सम्पदाको प्रवद्र्धन र व्यवस्थापन गर्न सक्ने हो भने कोरोनाका कारण शिथिल बनेको पर्यटनलाई चलायमान बनाउँदै पर्यटनकै माध्ययमबाट मुलुकको अर्थतन्त्रलाई उँचो बनाउन सकिन्छ ।’

महानगरपालिकाकी उप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि सहयोग आदन–प्रदानमाले दुवै नगरपालिकालाइ नजिक तुल्याएको बताए ।तहगत प्रणालीमा प्रदेश र सङ्घ सरकारसँग भन्दा नागरिकका समस्या स्थानीय सरकारसँग नजिक हुने हुँदा स्थानीय सरकारका बीच गहिरो सम्बन्ध र सहकार्य जरुरी रहेको कामापाका उपप्रमुख श्रेष्ठ खड्गीले आफ्नो धारणा राखे। सो क्रममा मेयर–मेयर र उपमेयर बिच कार्यक्रममा मायाको चिनो आदन–प्रदान गरिएको थियो । प्रमुख शाक्यले आँखीझ्याल उपहार दिनुभएको थियो भने प्रमुख जिसीले फेवातालमा माछापुच्छको छाँया टल्किरहेको फ्रेमसहितको नक्शा उपहार  दिएका थिए । 

सो अवसरमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कामपा जेठो महानगर र सङ्घीय राजधानीको महानगरपालिका भएकाले उसले सबै पालिकाको समस्या समाधानका लागि नेतृत्व गर्नुपर्ने बताए ।

सङ्घीय व्यवस्थालाई दिगो बनाउन सङ्घीयताको मर्मअनुसारका सङ्घीय कानून निर्माणमा ध्यान दिनुपर्नेमा पनि जोड दिँदै जिसीले भने, “विविध पहिचानसहितका शहरका समानता खोजौँ । अब नगरले आफूले आफ्ना बारेमा मात्र होइन, अन्य नगरको सम्भावनाका विषयमा कुरा गरौँ । यसले नागरिकमा विश्वास जाग्छ ।”
प्रमुख शाक्यको टोलीले आइतबार तानसेन नगरको पनि अवलोकन भ्रमण गरेको थियो ।

 

 

Loading...