उपयुक्त स्थान भए, शंखधरको अझ भव्य सालिक बनाउँछौ ः मेयर विद्यासुन्दर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा राख्ने उपयुक्त स्थान उपलब्ध भएमा त्यहाँ महानगरपालिकाबाट अझ भव्य प्रतिमा स्थापना गर्ने बचन दिनुभएको छ ।

काठमाडौंको पुरानो रत्नपार्कको नाम परिवर्तन गरी शंखधर पार्क नामाकरण गरिएको र त्यहाँ शंखधर साख्वाःको प्रतिमा स्थापना गरिएको बारे आइरहेको टिकाटिप्पणीप्रति लक्षित गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको उपलक्ष्यमा आज मंगलवार कामपा १५ वडास्थित लखुतीर्थमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको योगदानलाई चिरस्मरणीय बनाउन काठमाडौं महानगरपालिकाले गत शनिवार शंखधर उद्यानमा शंखधर साख्वाःको सालिक स्थापना गरेको हो । त्यहाँ सालिक राखिएकोमा केही केहीको गुनासो पनि आएको सुनियो । शंखधर साख्वाःको सालिक त्यहाँ नराखी अर्कै कुनै ठाउँमा राख्दा राम्रो हुने सुझाव पनि आएको छ । यदि कतै त्यस्तो ठाउँ छ भने हामीलाई भन्नोस्, हामी त्यहाँ अहिलेको भन्दा पनि भव्य शंखधर साख्वाःको सालिक स्थापना गर्नेछौँ ।’

किंवदन्ती अनुसार शंखधर साख्वाःले लखुतीर्थबाट लिएको वालुवा नै सुनमा परिणत भएको र उहाँले त्यही सुन बेचेर आएको पैसाले ऋणमा डुबेका तत्कालीन नेपाली जनतालाई ऋणमुक्त गरी नयाँ युग शुरु भएको संकेत स्वरुप नेपाल संवत् स्थापना गर्नुभएको थियो । शंखधरसँग जोडिएको उक्त लखुतीर्थलाई पनि अहिले काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरी धार्मिक पार्कको रूपमा विकास गर्न लागिएको छ । मेयर शाक्यले उक्त पार्क निर्माण भइसके पछि शंखधर साख्वाःको गरिमा अझ बढ्ने बताउनुभयो ।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४१ द्वारा आयोजित उक्त कार्यक्रममा बोल्नुहुँदै समितिका अध्यक्ष रमेश महर्जनले सबैबाट प्रयास भएमा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन सफलता प्राप्त गर्न सहज हुने बताउनुभयो ।

आफ्नै देशको नामबाट नेपाल संवत् स्थापना गर्नुहुने शंखधर साख्वाःको योगदानको कदर गर्दै नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते उहाँलाई राष्ट्रिय विभूति घोषित गरेको थियो । उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन कछलाथ्व दशमिलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिएको छ ।

Loading...