रक्षामन्त्रालयले मन्त्री पोखरेललाई गरेको विदाई कार्यक्रममा गएनन प्रधानसेनापति, जंगी अड्डामै बोलाएर विदाई गर्ने

काठमाडौं, २९ असोज । प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएपछि रक्षामन्त्री ईश्वर पोखरेललाई बुधवार सो मन्त्रालयमा विदाई कार्यक्रम राखियो । तर, उक्त विदाई कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति गएनन । उक्त विदाई कार्यक्रममा नेपाली सेनाले एकजना उपरथीलाई भने पठायो ।

नेपाली सेनासँगको मनमुटावकै कारण जिम्मेवारी खोसिएको हल्ला चलिरहेका बेला विदाई कार्यक्रममा देखिएको यो दृष्यले अझ बढी कुरा काट्ने मौका मिल्यो । बजारमा अनेक टिप्पणी हुन थाले । यसरी धेरै कुरा आउन थालेपछि अब भने नेपाली सेनाले निवर्तमान भइसकेका रक्षामन्त्री पोखरेललाई नेपाली सेनाको मुख्यालयमै बोलाएर विदाई गर्ने तयारी भएको छ ।

त्यसका लागि नेपाली सेनाले जंगीअड्डामा आइतबार एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । मन्त्रालयको विदाई कार्यक्रममा नआएर मन्त्रीलाई जंगी अड्डामै बोलाउनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाली सेनाले भने जंगीअड्डामै विदाइ गर्ने भएपछि रक्षा मन्त्रालयमा बुधबार भएको विदाइ कार्यक्रममा सहभागी हुन उपरथी शशिबहादुर सिंह पठाएको प्रष्ट्याएको छ ।

सेना र रक्षामन्त्री पोखरेलबीचको सहज सम्बन्ध नभएको र छेडखानी तथा कटाक्ष हुन थालेको थियो । फास्ट ट्रयाकसहितका विषयमा रक्षामन्त्रीले सेनालाई लक्षित गर्दै लकिरका फकिर जस्ता शब्दको प्रयोग गरेपछि नेपाली सेनाले त्यसमा टिप्पणी पनि गरेको थियो । धेरैले यसैलाई पोखरेललाई सेनासँगको मनमुटावकै कारण रक्षामन्त्रीको जिम्मेवारीबाट हटाइएको दावी गरेका छन् । साथै पोखरेललाई सेनाले मात्र होइन, मन्त्रालयकै कर्मचारीले पनि असहयोग गरेको टिप्पणी बाहिर आएको थियो ।

यसैबीच रक्षा सचिव रेश्मिराज पाण्डेले यस्ता टिप्पणीमा कुनै तथ्य नरहेको दावी गरेका छन् । त्यो पनि मन्त्रीलाई विदाई गर्न बुधवार मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममै त्यो कुरा उप्काए । पाण्डेले कर्मचारी र विभागीय समूहको असहयोगले मन्त्री पोखरेल हटेको भन्ने विषय गलत रहेको दाबी गरे । तर, अन्तिममा आएर विदाई कार्यक्रममा त्यस्तो विषयमा टिप्पणी गरेर उनले त्यो कुरामा अझ चर्चा थपेको बताउन थालिएको छ ।

Loading...