वर्ल्डलिंक र फेसबुकबीच सहकार्यः देशभरी फ्री एक्सप्रेस वाईफाइ प्रदान गरिने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड र फेसबुकबीच सहकार्य भएको छ । वर्ल्डलिंक र फेसबुकको सहकार्यमा सहज, छिटो छरितोसँग इन्टरनेट चलाउनका लागि देशभर पब्लिक वाईफाई उपलब्ध गराइने भएको छ ।

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बिहीवार जुम मार्फत पत्रकार सम्मेलन गरी फेसबुकसँग भएको सहकार्यको बारेमा जानकारी गराएको छ । सो पत्रकार सम्मेलनमा वल्र्डलिंकले फेसबुकको एक्सप्रेस वाईफाई प्लेटफर्ममार्फत नेपालभरी सार्वजनिक वाईफाई सेवा उपलब्ध गराउने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा दुबै कम्पनीले सहकार्य गरेको घोषणा समेत गरेका छन् ।

एक्सप्रेस वाईफाई प्लेटफर्म अन्तरगत अहिले वर्ल्डलिंकले देशभर १० हजार भन्दा बढि सार्वजनिक ठाउँमा फ्रि वाईफाई सेवा दिइरहेको छ । त्यसमध्ये ७ हजार ५ सय स्थानका वाईफाईका लागि वल्र्डलिंकले फेसबुकसँग सहकार्य गरेको वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलिप अग्रवालले जानकारी गराए ।

अध्यक्ष अग्रवालले यो सहकार्यले अझ पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेट पहुँचमा ल्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीलाई सरकारले स्पेक्ट्रम दिएको छैन र नदिँदा समस्या भएको छ, तर पनि फेसबुकसँगको सहकार्यमा पब्लिक वाईफाई व्यवस्थापन गर्न सहयोग हुनेछ ।’

आगामी दिनमा इन्टरनेट सेवा प्रदायकहरुलाई समेत सरकारले स्पेक्ट्रम दिएर सहयोग गर्नुपर्ने बताउँदै सरकारले मोबाइल स्पेक्ट्रममार्फत डाटा र इन्टरनेट दिने कुनै कानून आएमा प्रयोगकर्तालाई अझै सहज हुने उनले बताए ।

अध्यक्ष अग्रवालले भने, “यूजर्ससँग रकम लिने छेनौं, यसमा विज्ञापनमार्फत आगामी दिनमा मनिटाईज गरिने छ ।”

अध्यक्ष अग्रवालले एक्सप्रेस वाईफाई प्लेटफर्मले वल्र्डलिंकको सार्वजनिक वाइफाइ सेवा सुधार गरेर, दुरुस्त, भरपर्दाे र किफायती इन्टर्नेट सेवाको साथै सबैका लागि, सबै ठाउँमा, सधैं जोडिने विश्वास व्यक्त गरे । यस सहकार्यले देश भरीका अल्पसंख्यक, विपन्न वर्गलाई पनि इन्टरनेट सेवाको पहँुच नजिक पुरयाउने आशा पनि उनले व्यक्त गरे ।

पत्रकार सम्मेलनमा सहभागी भएका फेसबुकका तर्फबाट मोबाइल पार्टनरशिपका निर्देशक करण खाराले भने, “रोजगार, शिक्षा, स्वास्थ्यसेवा र थप पहुँच सुनिश्चित गर्न उच्च गुणस्तरीय इन्टरनेट पहुँच अत्यावश्यक तत्व हो । एक्सप्रेस वाईफाई प्लेटफर्मको साथ, वल्र्डलिंक नेपालमा आफ्नो वाइफाइ कभरेजलाई दिगो रुपमा विस्तार गर्न सक्षम छ । धेरै व्यक्तिलाई अनलाइनका लागि सक्षम पार्ने हाम्रो विश्वास छ । हामी वल्र्डलिंकसँग निरन्तर साझेदारीको लागि तत्पर छौं ।”

Loading...