काठमाडौंमा एक व्यक्तिले गरे आफ्नै पत्नी र छोरीलाई स्प्रिट प्रहार

काठमाडौं, २३ साउन । घरायसी झगडामा राजधानी काठमाडौंमा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीको अनुहारमा स्प्रिट हानेका छन् । काठमाडौंको चुच्चेपाटीमा बिहीबार बेलुका यस्तो घटना भएको हो ।

मकवानपुरको हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका करिब ४४ वर्षीय राजन विष्टले आफ्नी ४० वर्षीया पत्नी र करिब २० वर्षीया छोरीलाई स्प्रिट आक्रमण गरेका हुन्। बिहीबार बेलुका ९ बजेतिर रक्सी पिएर बिष्टले यस्तो आक्रमण गरेको बुझिएको छ ।

परिवारमा घरायसी झगडा रहेको र राति मादक पदार्थ खाएर घर आएपछि यस्तो घटना भएको प्रहरीले जनाएको छ । सुरुमा प्रहरीलाई बाबुले छोरी र पत्नीलाई एसिड आक्रमण गरे भन्ने खबर गरिएको थियो । पछि बिष्टलाई पक्राउ गरेर अनुसन्धान गर्दा एसिड नभएर हात धुन प्रयोग गरिने स्प्रिट छ्यापेको थाहा भएको थियो ।

स्प्रिट आक्रमणबाट आमा र छोरीलाई कुनै असर भने नगरेको प्रहरीले जनाएको छ । स्प्रिट आक्रमणमा परेका आमा र छोरी दुबै जनालाई उपचारका लागि तिलगंगा अस्पताल लगिएको थियो । दुबै जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

टाउको र अनुहारमा स्प्रिट परे पनि आमाछोरी दुबैको आँखाको ज्योतिमा कुनै असर नगरेको चिकित्सकले बताएका छन्।

Loading...