काठमाडौँमा बिहिबारबाट फेरि पनि जोरबिजोर लागू (बिज्ञप्ति सहित)

बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक

काठमाडाैं । सरकारले  बिहीवारबाट लागू हुने गरी जोर विजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्न/गराउन सूचना जारी गरेको छ । गृह मन्त्रालयले प्रेस बिज्ञप्ती मार्फत सूचना जारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा प्रेषित प्रेस विज्ञप्तीमा काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लामा र उपत्यका बाहिर २ सयजना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाका लागि जोर विजोर प्रणाली लागू हुने जनाइएकाे छ ।

सरकारले भदौ १ देखि लामो दुरीको सवारीसाधन समेत चलाउन दिने बताइरहँदा कोरोना संक्रमितको संख्या बढेसँगै सरकार पुन: जाेर विजोर प्रणाली लागूगर्ने निर्णयमा पुगेको हो ।

संक्रमितको संख्या बढेसँगै संक्रमणको जोखिम बढेपछि विज्ञहरुले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सवारी साधनमा जोरविजोर लगाउन सुझाएका थिए ।

सरकारी आदेश अनुसार बिहीबारबाट जोर बार जोर नम्बरका र बिजोर बार बिजोर नम्बरका सवारी साधन मात्र चल्न पाउने भएका छन् । त्यतिमात्र होइन राती ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि आवागमन समेत बन्द गर्ने बताइएको छ । त्यसैगरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगर्नेलाई दण्ड जरिवानामा कडाइ गर्ने र कामदारले उक्त मापदण्ड उलंघन गरे सस्थाको संचालकलाई कारवाही गर्ने समेत जानकारी गराइएको छ ।

 

 

Loading...