काठमाडौं महानगरपालिकाको सर्वेक्षणमा ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या

 

 

श्रावण १३ ,काठमाडौँ। लामो समय लकडाउन हुदा काठमाडौंमा बस्ने डेरावालहरुमध्ये ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या भएको छ। काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले गरेको कोभिड–१९ को प्रभाव सम्बन्धी सर्वेक्षणले डेरामा बस्नेमध्ये चैत, बैशाख र जेठ महिनामा घरभाडा तिर्न नसक्नेको संख्या उच्च रहेको देखाएको छ। आर्थिक कारोबार ठप्प हुनु र व्यापार व्यवसाय पूर्णरुपमा बन्द हुनुले यस्तो अवस्था आएको सर्वेक्षणको निष्कर्ष रहेको छ।
सर्वेका अनुसार ५०.२ प्रतिशतको मुख्य आम्दानीको स्राेत जागिर रहेको छ । १६.८ ले आफ्नै व्यवसायबाट जीविकोपार्जन गर्ने गरेका छन् भने १.४ प्रतिशतले दैनिक ज्यालादारीमा निर्भर छन् । लकडाउनका कारण २७ प्रतिशत मानिसमा मानसिक समस्या परेको छ, १४ प्रतिशतले खाद्यान्नको समस्या भोग्न परेको छ । सामान्य मात्रै प्रभाव परेकोमा बाँकी ४३ प्रतिशत रहेको छ ।

कोरोनाको महामारी फैलिन नदिन सरकारले ११ चैतबाट लकडाउन गरेको थियो । आयोगका विज्ञहरुको समूहले जेठ १० देखि २८ गतेसम्म सर्वेक्षण गरेको थियो ।
लकडाउनका कारण रोजीरोटी गुमाएका एक लाख ८ हजार तीन सय ६६ जना गरिब र असहाय व्यक्तिहरुलाई महानगर पालिका राहत वितरण गरेको थियो ।
७२ हजार नौ सय १७ लाई महानगरको आफ्नै श्रोतबाट र ३१ हजार ५२५ जनालाई दाताबाट प्राप्त श्रोतबाट राहत वितरण गरेको छ । महानगरले एक लाख आठ हजार तीन सय ३६ व्यक्तिहरुलाई पटक पटक गरी दुई लाख ६५ हजार चार सय ३३ छाक खाना खुवाएका थिए ।

Loading...