‘फुटपाथ पसललाई प्रोत्साहन गर्न सकिन्न’

 

श्रावण १३, काठमाडौं । काठमाडौंका असन इन्द्रचोक लगायतका भित्री वस्तीमा फुटपाथ पसल हटाउ अभियान संचालन गर्दै आएको जागरुक युवा समूहले अभियान अन्तर्गत पछिल्ला दिनहरुमा भएका घटनाक्रमले समूह स्तब्ध भएको जनाएको छ । अभियानको थालनी भएको ५० दिन पूरा भएको अवसरमा आज प्रेस विज्ञप्ती जारी गर्दै समूहले ५० दिनसम्म आईपुग्दा फुटपाथ पसलहरु हट्दै गएको परिस्थितीमा एकाएक फुटपाथ व्यापारीहरु आक्रमणमा उत्रिन थालेको देखेर आफुहरु स्तव्ध भएको जनाएको छ ।
समूहका संयोजक चन्द्र महर्जनबाट हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘हिजोको दिनसम्म हामीलाई देख्ने वित्तिकै भाग्ने गरेका ती फुटपाथ व्यापारीहरु एकाएक प्रतिकारमा उत्रिने मानसिकतामा कसरी पुगे ?’
जागरुक यूवा समूहले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर भन्दै विगत ५० दिनदेखि काठमाडौंका भित्री वस्तीमा फुटपाथ पसल हटाउ अभियान संचालन गर्दै आएको छ । विगतमा अस्तव्यस्त देखिने गरेको असन ईन्द्रचोक क्षेत्र यो अभियान संचालन भएपछि व्यवस्थित देखिन थालेको छ भने पैदलयात्रुहरुलाई निकै हिँड्नका लागि सहज भएको छ । समूहका स्वयम्सेवकहरु हरेक दिन नगर प्रहरी र नेपाल प्रहरीको साथमा विहान बेलुका सो क्षेत्रमा निस्किँदै फुटपाथ पसलहरु हटाउन लगाउने गरेका छन् । सोही सन्दर्भमा कैयन फुटपाथ व्यापारीहरुले सडकमा पसल राख्न नै छोडेका छन् भने कत्तिले आँखा छलाउँदै पसल राख्ने गरेपनि नगर प्रहरी वा स्वयम्सेवकहरु देख्ने वित्तिकै पसल निकाल्ने गरेको समूहले जनाएको छ ।
तर गत शुक्रवार एकाएक फुटपाथ व्यापारीहरु समूहका स्वयम्सेवकविरुद्ध प्रतिकारमा उत्रिएका थिए । सो क्रममा केही फुटपाथ व्यापारीहरुले समूहका सचिव संजय महर्जन लगायत केही स्वयमसेवकहरुलाई हात समेत हालेका थिए । शनिबार र आईतबारका दिन त धारिलो हतियारसमेत लिएर फुटपाथ व्यापारीहरुले समूहका स्वयम्सेवकहरुलाई आक्रमण गर्न आएको समूहका संयोजक चन्द्र महर्जनले बताएका छन् ।
केही फुटपाथ व्यापारीहरुले जागरुक युवा समूहकै कुनै सदस्य आएर पसल राख्न हुने भनेको उल्लेख गर्दै समूहले कुनै किसिमले फुटपाथ पसललाई समर्थन नगरेको र पसल राख्न पाइने नभनेको पनि प्रष्ट पारेको छ । सडक भनेको बटुवाको लागि भएको र यहाँ पसल राख्ने दिने कुरा समूहले नगरेको भन्दै समूहका कुनै सदस्यले यस्तो भनेको भए समूहको नियम अनुसार कारवाही गर्ने समेत समूहले विज्ञप्तीमार्फत जनाएको छ ।

Loading...