जाजरकोट । गरीब, विपन्न तथा समस्यमा परेका एकल महिलालाई जाजरकोट नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ ।
१३ वडाका २६ महिलालाई सोलार वितरण गरिएको छ । सबै वडाका दुई/दुई जनालाई ८० वाटको सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।
एकल महिलासँग उपप्रमुख कर्यक्रमअन्तर्गत सोलार वितरण गरिएको नगर प्रवक्ता राममाया हमालले बताए । एकल महिलाले अर्थाभावमा छोराछोरी पढाउन सल्लीको दियालो प्रयोग गर्ने अवस्थालाई अन्त्य गर्न विपन्नलाई सोलार वितरण गरेको उनले जानकारी दिए ।
प्रत्येक वडामा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षको सहभागितामा सोलार वितरण गरिएको हो । अधिकांश गरिब परिवारमा अझै पनि सल्लीको दियालो भर पर्नुपर्ने अवस्था रहेको छ । आर्थिकरूपमा पछि परेका एकल महिलालाई छोराछोरीको पढाइ, पालनपोषणमा तथा आधारभूत आवश्यकता पूरा गर्न समस्या परिरहेको छ ।