सदस्य मोहना अन्सारीको ट्वीटप्रति मानव अधिकार आयोगका अध्यक्षको आपत्ती

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सदस्य मोहना अन्सारीले समाजवादी दलकी नेतृ सरिता गिरीलाई कारबाही गर्ने पार्टीको निर्णयबारे सामाजिक संजाल ट्विटरमा गरेको टिप्पणीमाथि खेद व्यक्त गरेका छन् ।

गिरीलाई विषयमा अन्सारीले सामाजिक संजालमा लेखेको विषयले आयोगको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष अनुपराज शर्माले विज्ञप्ति जारी गरेका हुन् । बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष शर्माले सदस्य अन्सारीलाई सचेत गराएको अवस्थामा पनि त्यस्ता अभिव्यक्ति आउनु खेदजनक रहेको भनेका छन् ।

‘संविधान कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गर्दै सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेदजनक’ तथा ‘कथित् छानबिन प्रतिवेदन’ भनी दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक संजालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको भनाइ ट्विटरमा आउनु खेदजनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।’

अन्सारीले ट्विटरमा लेखेकी थिइन्, ‘सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानबिन प्रतिवेदनको आधारमा कारबाही गरी निष्काषन र सांसदबाट निलम्बन हुने विषय खेदजनक छ । संसदमा आफनो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारबाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरीत रहेकोले निर्णय फिर्ता लिन अनुरोध गर्दछु ।’

Loading...