विदेशी बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने पक्षमा नेकपाको निर्णय

काठमाडौं, ६ असार । बालुवाटारमा बसेकाे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने पक्षमा निर्णय गरेकाे छ । बिदेशी बुहारी र ज्वाइलाइ नेपालकाे नागरिकता दिने बारेमा छलफल भइरहेका बेला सत्तारुढ नेकपाले अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको हाे ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शनिबार विहान बसेको सचिवालयको बैठकले विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत भएको छ । स्राेतका अनुसार सचिवालय बैठकमा नेता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई थप समय राखेर भए पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने धारणा राखेका थिए । तर उनकाे त्याे तर्कमा अरु काेही पनि नेता सहमत नभएकाे बताइएकाे छ ।

विवादित नागरिकता विधेयकमा यस्ता थुप्रै विवादास्पद प्रावधानहरु छन । नेपाली कांग्रेस र मधेश केन्द्रित दलहरु भने कुनै नेपालीसँग विदेशी नागिरकले विवाह गरेलगत्तै नागिरकता दिनुपर्ने पक्षमा छन । संसदकाे राज्य व्यवस्था तथा सुशासन समितिमा यस सम्बन्धि विधेयक दुई वर्षदेखि अड्किएको छ । विधेयकका अधिकांश बुँदामा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको छैन । पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि नेपाली कांग्रेसले असहमति जनाएकाे थियो ।

Loading...