बाँकेको दुई नयाँ ठाउँमा फेला परे कोरोनाका ४ संक्रमित

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्लाका आठ स्थानीय तह मध्ये अहिलेसम्म डुडुवासहित पाँच पालिकामा कोरोना संक्रमण देखा परेको छ ।

नेपालगञ्जमा सुरुमा देखा परेको कोरोना भाइरसको संक्रमण नरैनापुर, खजुरा, राप्तीसोनारी हुँदै डुडुवामा समेत देखा परेको हो । अहिलेसम्म कोहलपुर, बैजनाथ र जानकी गरी तीन पालिकामा भने संक्रमण देखिएको छैन । भारतबाट आएका मानिसको यी पालिकाहरुमा बाहुल्यता रहेको छ । परीक्षणको दायरा बढाउँदा यी पालिकामा पनि संक्रमण देखिन सक्ने छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले सार्वजनिक गरेको बाँकेका थप चारजना संक्रमित मध्ये दुईजना राप्तीसोनारी र दुईजना डुडुवा पालिकाका हुन् । राप्तीसोनारी–७, सर्रीको नेपाल राष्ट्रिय माविमा रहेका १६ र २३ वर्षीय तथा डुडुवा गाउँपालिका–२ को अमृतपूर्वाका २३ र २४ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको सोमबार सच्याएर विज्ञप्ती निकालेको हो । यसअघि आइतबार निकालेको विज्ञप्तीमा राप्तीसोनारी वडा नम्बर ५ नारायणपुर भवनपुर माविका चारजना संक्रमित भएको जनाइएको थियो । राप्तीसोनारी वडा नम्बर ५ मा सो नाम गरेको विद्यालय नै थिएन र त्यहाँबाट स्वाबसमेत संकलन गरिएको थिएन ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १ सय ४६ पुगेको छ । त्यसमध्येमा २१ जना सन्चो भएर घर फर्किएका छन् ।

Loading...