संक्रमित बढ्न थालेपछि चिलेको स्वास्थ्य सेवा ‘थेग्नै नसक्ने’ अवस्थामा

एजेन्सी । दक्षिण अमेरिकी देश चिलेमा कोरोना भाइरसको महामारीका कारण त्यहाँको स्वास्थ्य सेवा थेग्नै नसक्ने गरी दबाबमा आएको छ । चिलेका राष्ट्रपति सेबास्टियन पिनेराका अनुसार अबको केही दिनभित्रै देशको स्वास्थ्य सेवाले आफ्नो सीमा पार गर्ने बताएका छन् ।

राष्ट्रपति पिनेराले आइतबार भनेका छन्, ‘हामीलाई यो तथ्य थाहा छ कि हाम्रो स्वास्थ्य सेवा थेग्नै नसक्ने खालको दबाबमा आएको छ ।’

जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार चिलेमा हालसम्म ६९ हजार १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म कोभिड–१९ बाट ७१८ जनाको ज्यान गएको छ ।

राजधानी सान्टियागोमा संक्रमण नियन्त्रणका लागि कडा लकडाउन लागु गरिएको छ । अधिकांश संक्रमित सान्टियागोकै छन् ।

राष्ट्रपति पिनेराले आइतबार राजधानी सान्टियागोमा कोभिड–१९ को नयाँ फिल्ड हस्पिटलको उद्घाटन गर्दै भनेका छन्, ‘स्वास्थ्य सेवाको माग अत्याधिक भएकाले हामी दबाबमा आएका छौँ । हाम्रो सीमा अब पूरा हुँदैछ । सघन उपचार कक्षका बेड तथा भेन्टिलेटरको माग लगातार बढिरहेको छ ।’

सान्टियागोमा लकडाउनका कारण अर्थतन्त्रमा प्रभाव परेको तथा खाद्यान्नकै अभाव भएको भन्दै प्रदर्शन पनि भएको छ । प्रहरी र प्रदर्शनकारीबिच झडप पनि भएका छन् ।

सरकारले समस्यामा परेकाहरु झण्डै एक तिहाई नागरिकका लागि आर्थिक सहायताको प्याकेज ल्याएको छ । त्यस अन्तर्गत शनिबार १८ लाख मानिसले राहत रकम प्राप्त गरे । थप ३० लाख मानिसलाई आउँदो जुन १० मा राहत रकम प्रदान गर्ने तयारी रहेको राष्ट्रपति पिनेराले बताएका छन् । यस्तो सहायता तीन महिनाका लागि हो ।

Loading...