सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने निर्णय प्रति वर्ल्ड नेवाःअर्गनाइजेसनको आपत्ति

बैशाख ३० ,काठमाडौँ ।      सरकारले सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने निर्णय गरेकोमा वर्ल्ड नेवाः अर्गनाइजेसनले आपत्ती जनाएको छ ।

संसारैभरि छरिएर रहेका नेवारहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले नेपाल सरकारले सुकुम्वासी आयोग मार्फत सुकुम्वासीलाई जग्गा दिने निर्णय गरेकोप्रति आपत्ती जनाएको हो ।

अर्गनाइजेसनको केन्द्रीय वैठकमा यस विषयमा छलफल गर्दै विश्वभरको साथमा नेपालमा पनि कोभिड १९ को संक्रमण फैलिएर सबै लकडाउनमा बसिरहेको अवस्थामा सुकुम्वासी आयोग गठन गर्ने र जग्गा बाँड्ने निर्णय गर्नुमा सरकारको बदनियत प्रष्टिएको ठहर गरेको हो ।

काठमाडौंका रैथानेलाई विस्थापित गर्दै सुकुम्वासीलाई जग्गा बाँड्ने कुरा नसच्याइए यस विरुद्ध आन्दोलनको थालनी गर्ने विषयमा समेत अर्गनाइजेसनको वैठकले छलफल गरेको छ ।

काठमाडौं उपत्यकाका रैथानेलाई विस्थापित गर्ने कदम चालेमा नेपालका सबै संघसंस्थासँगै अर्गनाइजेसनले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय कानून अन्तर्गत मुद्दा चलाउने निर्णय वैठकले गरेको अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले जानकारी दिनुभयो ।

अर्गनाइजेसनको अनलाईन वैठकमा नेपालको साथै अमेरिका, क्यानडा, लन्डन, इजरायल र विभिन्न यूरोपीय मूलुकमा रहेका कार्य समिति पदाधिकारी, सदस्यहरुको सहभागीता रहेको थियो ।

Loading...