सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरणमा उजुरी दर्ता

काठमाडौँ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले अपहरण तथा शरीर बन्धक कसुरमा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ ‘किसन’ र पूर्व आइजिपी सर्वेन्द्र खनालबिरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विषयमा प्राप्त उजुरी दर्ता गरेको छ।

सरकारी वकिल कार्यालयले अब काठमाडौँ प्रहरी परिसरलाई जाहेरी दर्ता गरि आवश्यक अनुसन्धान अगाडि बढाउन निर्देशन दिने छ। सरकारी वकिल कार्यालयले जाहेरी दरखास्तको सक्कली प्रति प्रहरी कार्यालयलाई पठाउने छ।

समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै प्रहरीले जाहेरी लिन नमानेको विषयमा सरकारी वकिल कार्यालयमा उजुरी गरेका थिए।

यसअघि काठमाडौँ प्रहरी परिसरले बस्नेत, श्रेष्ठ र खनालबिरुद्ध जाहेरी लिन मानेको थिएन। सरकारी वकिल कार्यालयले उजुरीको अध्ययन गरि दर्ता गर्ने बताएको थियो।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ ले कुनै पनि घटनाबारे सुचना तथा अनुसन्धान सम्बन्धी व्यवस्थाको कार्यविधी स्पष्ट गरेको छ। कार्यविधीको परिच्छेद २ मा उक्त कार्यविधीबारे लेखिएको छ। यस्तो छ व्यवस्था –

५. जाहेरी दरखास्त वा सूचना दर्ता नगरेमा उजुर गर्न सक्नेः (१) दफा ४ को उपदफा (१) बमोजिम दिएको जाहेरी दरखास्त वा सूचना सम्बन्धित प्रहरी कार्यालयले दर्ता गर्न इन्कार गरेमा जाहेरी दरखास्त वा सूचना गर्ने ब्यक्तिले त्यस्तो व्यहोरा खुलाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता गर्नु पर्ने प्रहरी कार्यालयभन्दा माथिल्लो तहको प्रहरी कार्यालयमा जाहेरी दरखास्त वा सूचना सहित उजुर गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको उजुर प्राप्त भएमा सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा प्रहरी कार्यालयले त्यसको अभिलेख राखी त्यस्तो जाहेरी दरखास्त वा सूचना आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्राप्त हुन आएको जाहेरी दरखास्त वा सूचनालाई सम्बन्धित प्रहरी कार्यालयले दफा ४ को उपदफा (३) बमोजिम दर्ता गरी कारबाही गर्नु पर्नेछ।

सांसद यादवलाई गत बिहीबार नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालसहित महोत्तरी गएर अपहरण गरी ल्याएको भन्दै यादवको दल समाजवादीलगायत अन्य दलका नेताहरुले आरोप लगाउँदै आएका छन्। बालुवाटारकै संलग्नतामा यादवको अपहरण भएको भनी आरोप लागिरहेको छ।

Loading...