फेरि उदयपुरमै भेटिए ११ संक्रमित, नेपालमा संक्रमितको संख्या पुग्यो ४२

काठमाडौं, बैशाख । मंगलबार उदयपुरमा थप ११ जना काेराेनाका संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरमा थप ११ जना संक्रमित भेटिएकाे बताए ।

काठमाडौंबाट गएको नेपाली सेनाको टोलीले उक्त क्षेत्रमा थ्रोट स्वाब संकलन गरेको थियाे । सेनाले संकलन गरेकाे थ्राेट स्वायबकाे नमूना काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको बताइएकाे छ । त्यस्तै साेही ठाउँबाट विराटनगरस्थित काेशी अञ्चल अस्पताल लगिएका मध्ये ८ जनाकाे रिपाेर्ट पनि पाेजिटिभ पाइएकाे हाे । काठमाडाैंमा नमूना ल्याइएका मध्ये अझै २० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै काेशी अञ्चल अस्पताल विराटनगर लगिएका ६९ मध्ये ८ जनाको रिपोर्ट पोजेटिभ देखिएकाे छ । त्यसपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भयो ।

यसअघि पनि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमूना परीक्षण गर्दा उनीहरुमा पनि कोरोना संक्रमण देखिएको हो ।

मंगलबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष, ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकाे प्रवक्ता देवकाेटाले जानकारी दिएका छन् ।

Loading...