गृहमन्त्रीकाे रिपोर्ट ‘कोरोना नेगेटिभ’

गृहमन्त्री रामबहादुर थापा’बादल’ को कोरोना भाइरस(कोभिड १९) परीक्षण गरिएको छ । शुक्रवार उनको कोभिड १९ परीक्षण भएको हो ।

परीक्षण गर्दा रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ । आरडीटी मार्फत कोरोना टेस्ट गर्दा उनको रिपोर्ट कोरोना नेगेटिभ देखिएको हो ।

सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी कोरोना विशेष अस्पतालका चिकित्सकले गृहमन्त्रीको नमूना लिई र्यापिड डिटेक्सन किट मार्फत कोरोना टेस्ट गरेका थिए । शुक्रवार अस्पतालका चिकित्सकहरुको एक टोली पुल्चोकस्थित गृहमन्त्री थापाको निवासमा पुगी कोरोना टेस्ट गरेको हो ।

उक्त टोलीले सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत केहि बरिष्ठ अधिकृतहरुको पनि कोरोना टेस्ट गरेको बताइएको छ । टेस्ट गरिएका सबै रिपोर्टमा कोरोना नेगेटिभ रहेको श्रोतले भक्तपुर पोस्टलाई जानकारी दिएको छ ।

चन्द्रागिरी नगरपालिकाको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पताल शुरु देखि नै कोरोना विरुद्ध सरकारी अभियानमा जोडिएको अस्पताल हो । यसलाई घोषित रुपमै कोरोना विशेष अस्पतालको रुपमा मन्त्रीपरिषदबाटै निर्णय गरी सरकारले विशेष जिम्मेवारी दिंदै आएको छ । बढी जनसम्पर्कमा रहने उच्च पदस्थहरुमा रोगकाे जोखिम बढी हुने भएकोले कोरोना परीक्षण गरेर ढुक्क भएकाे अस्पतालका चिकित्सकको भनाइ छ ।

नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । सरकारले टेस्टको दायरा फराकिलो पारेसंगै एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमित फेला परेका हुन् ।

Loading...