फेरि २ जनामा भेटियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४

काठमाडौं, १ वैशाख । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी आजै कैलालीको लम्कीचुहाकी एक ६५ वर्षीया महिलामा पनि काेराेनाकाे संक्रमण भेटिएकाे छ । यी दुई जनामा भाइरसकाे संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ ।

आइतबार मात्रै पर्साको वीरगंज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोरोना पोजिटिभ देखिएकोे थियो ।

अहिले तीनजनाको संसर्गमा रहेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएकाे छ । विरगञ्जमा भेटिएका संक्रमित व्यक्तिसँग आएका अन्य २८ जनाको नमूना पनि परीक्षण भएको बताइएकाे छ । तर छपकैया टोलका ५९ जनाकाे नमुना समेत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएकाे छ ।

नेपालमा पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उनी हाल भने निको भइसकेका छन् । नेपालमा हालसम्म सोमबारको अपडेट अनुसार ५ हजार २ सय ९१ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । अहिलेसम्म देशभर १०३ जना आइसोलेसनमा रहेका छन् भने ७ हजार १ सय ९१ जना क्वारेन्टाइनमा रहेका छन् ।

Loading...