अग्रज रञ्जितकार
काठमाडौँ । संसारभरी महामारीको उग्र रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले विश्वको हरेक राष्ट्रको जनजीवनमा असर पारे जस्तै नेपाली जनजीवनमा पनि असर पारिरहेको छ । भाइरसको संक्रमण थप फैलिन नदिन विश्वको अधिकांश राष्ट्रले लकडाउन (घरभित्रै रहने) को घोषणा गरेको छ । नेपाल सरकारले पनि २०७६ साल चैत ११ गते (२४ मार्च २०२०) बाट लकडाउन घोषणा ग¥यो । सुरुमा चैत २५ गते (७ अप्रिल) सम्म गरिने भनिएतापनि सङ्क्रमणलाई बढ्न नदिनका लागि सरकारले थप आठ दिन अर्थात् २०७७ बैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको छ ।
लकडाउनका कारण समाजका हरेक क्षेत्रमा असर परेजस्तै नेपाली धार्मिक साथै सांस्कृतिक गतिविधि पनि ठप्प पारेको छ । लकडाउनकै कारण बिक्रम सम्बत्को चैत्र र बैशाख महिनामा पर्ने सम्पूर्ण जात्रा–पर्व स्थगित गरिएका छन् । यसै क्रममा चैत्र र बैशाख महिनामा राजधानी उपत्यका र यस वरपर मनाइने सबैभन्दा ठूलो पर्व बिस्केट जात्रा पनि ठप्प भएका छन् ।
बिस्केट जात्रा सम्बन्धी दुईवटा किंवदन्ती पाइन्छन् । लीलाभक्त मुनंकर्मीद्वारा लिखित ‘नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन’ मा उल्लिखित पहिलो किंवदन्ती अनुसार परापूर्वकालमा एक प्रतापी राजाका छोरी राजकुमारीको विवाह गरिदिने क्रममा राजाले राजकुमारीसँग एकरात बिताउन सक्नेलाई आफ्नो राज्य र मनग्य धनराशी दिने घोषणा गरेका थिए । कसैले पनि ती राजकुमारीसँग एकरात बिताउन सकेनन् । राजकुमारी सुतिसकेपछि राजकुमारीको नाकको प्वालबाट एक जोडी सर्प निस्केर अजिङ्गर भएर दुलहालाई डसेर मारिदिन्थ्यो र त्यही नाकको प्वालबाट भित्र गई अदृश्य हुन्थ्यो । त्यसकारण धेरै राजकुमारहरुको मृत्यु भइसकेको थियो । त्यसरी भोलिपल्ट दुलहाको लाशमात्र भेटिन्थ्यो ।
त्यही समयमा देश बसाउन भनेर एक प्रतापी एवम् बलबान् राजकुमार घना जंगलमा घुमिरहेका बेला एउटी बुढीलाई देखे । ती बुढीले त्यस राजकुमारलाई राजकुमारीको दुर्दशाको बारेमा बताइन् । ती बुढीले त्यस अजिङ्गरलाई खड्गबाट मार्न सकिने कुरा भनेर अन्तध्र्यान भइन् । सोही बुढीको सल्लाह अनुसार राजकुमारले त्रिवेणी खोलामा खड्ग प्राप्त गरेर राजदरबारमा गएर राजासँग छोरी माग्न गए । राजाले उनीहरुको विवाह गरिदिए । राजकुमारी सुतिसकेपछि नाकको प्वालबाट एकजोडी सर्प निस्केर अजिङ्गर भई राजकुमारलाई मार्न निस्किए । तर राजकुमार सतर्क भएर आफूसँग भएको खड्गले त्यस अजिङ्गरलाई दुई टुक्रा गरेर मारिदिए । मर्नुभन्दा अगाडि ती अजिङ्गर जोडीले राजकुमारको पुरुषार्थको प्रशंसा गरेर उनीहरुको प्रतीक चिन्हलाई सबैले देख्ने गरी जात्रा चलाइदिनु भनी दुवैले प्राण त्याग गरे ।
भोलिपल्ट बिहान राजकुमारलाई जीवित देखेपछि राजा अचम्मित भए र मरेका अजिङ्गरको जोडी पनि देखे । राजा खुशी भएर दरबारमा उत्सवको आयोजना गरे र राजकुमारलाई आफ्नो राज्यको भार सुम्पी धन सम्पति दिई राजतिलक लगाइदिए । राज्याभिषेक भइसकेपछि नव राजाले अजिङ्गरले मर्नुभन्दा अघि भनेको कुरा ज्योतिषीहरुलाई भेला गराएर सुनाए । यसरी ती अजिङ्गर जोडीलाई हरेक वर्ष चैत्र मसान्तका दिनमा सबैले देख्ने गरी लिंगोमा झुन्डाएर जात्रा चलाई २४ घण्टापछि बिसर्जन गराउने परम्परा चलाए र यसैलाई नै बिस्केट जात्रा भन्ने गरिएको छ ।
सोही बिस्केट जात्रालाई मल्ल राजाहरुले पनि तान्त्रिक विधि अनुसार पूजा गरेर जात्रालाई निरन्तरता दिए । सम्पूर्ण प्रजालाई उमंगित बनाउन मल्ल राजाहरुले श्री भैरव–भद्रकालीको रथजात्रा लिंगो उभ्याउने ४ दिन अघि र लिंगो बिसर्जन भएको ४ दिन पछिसम्म ठूलो जात्राको रूपमा चलाइदिएका थिए ।
दोस्रो किवंदन्ती अनुसार भक्तपुरमा लिच्छवीवंशका शिवदेवले राज्य गरिरहेका बेला किरातीहरुले भक्तपुरमा हमला गर्न आएकाले राजा शिवदेव श्री वज्रयोगिनीको शरणमा गएका थिए । वज्रयोगिनी देवीले राजा शिवदेवलाई गुरु शेखर आचाःजुकोे सल्लाह बमोजिम युद्ध गर्दा विजय हुने आज्ञा दिइन् । सोही आज्ञा अनुसार नै राजा शिवदेवले शेखर आचाजुलाई बोलाई वज्रयोगिनी देवीले भनेको आज्ञा सुनाए । गुरु शेखरले आक्रमणकारी किरातीहरुलाई हजार बाघ भएर तितरबितर पारेर भगाई पठाउने आश्वासन दिए । साथै आक्रमणकारी किरातीहरुलाई भगाई सकेपछि गुरु शेखर बाघको अवतार लिएर राजा शिवदेवकहाँ आइपुग्ने र नडराईकन अक्षता हान्न राजा शिवदेवलाई आग्रह गरे । गुरु शेखरले आफूले दिएको वचन पूरा गर,े र राजा शिवदेवले पनि गुरु शेखरले भनेझैँ बाघरूपी गुरु शेखरलाई अक्षता हाने । अक्षता हाने पश्चात् गुरु शेखर पहिलेको जस्तै मानव रूपमा फर्किए । राजा गुरुदेवले गुरु शेखरलाई स्वागत सत्कार गरेर सिन्दूर जात्रा गरी घरमा फर्किए ।
आफ्ना श्रीमान्लाई बाघको अवतार लिएको देखेर अचम्मित भएकी गुरु शेखरकी श्रीमती नररूपाले अजिङ्गरको रूप लिन गुरु शेखरसँग जिद्दी गर्न थालिन् । गुरु शेखरले आफ्नो श्रीमतीलाई नडराईकन मैले भनेको जस्तो ग¥यौे भने मात्रै अजिङ्गर रूप धारण गर्ने आश्वासन दिए । नररूपाले गुरु शेखरको कुरा मानिन् र गुरु शेखरले एक मुठ्ठी अक्षता मन्त्र गरी नररूपाको हातमा राखिदिएर विशाल अजिङ्गरको रूप धारण गरे । विशाल अजिङ्गर देख्नासाथ नररूपा डराइन् र गुरु शेखरले भनेको कुरा बिर्सेर भाग्न थालिन् । अजिङ्गर रूपी गुरु शेखर नररूपाको हातमा भएको अक्षता हानिदिने आशाले नररूपाको पछिपछि लागे । नररूपाले आफ्नो हातमा भएको अक्षता अजिङ्गरलाई हान्नुको सट्टा आफ्नै मुखमा हालिन्, जसका कारण नररूपा पनि अजिङ्गर बनिन् । उनीहरु अजिङ्गर बनेको कुरा कसैलाई पनि थाहा थिएन । अजिङ्गर जोडी कसैले मन्त्रद्वारा अक्षता हानिदेला र पुनः मानव रूप लिन पाइएला भन्ने आशाले मन्दिरहरु नजिकै सबैले देख्ने गरी बस्न थाले । धेरै दिनसम्म पनि कसैले मन्त्रद्वारा अक्षता नहानिदिएको हुनाले राजा शिवदेवलाई बाघ बनेर सहयोग गरेको सम्झेर राजा शिवदेवको राजदरबारमा पुच्छरले टेकेर हेर्दथे । कसैले पनि सहयोग नगरेको हुनाले पछि ती दुवै अजिङ्गरले भद्रकाली पीठ नजिकै आत्महत्या गरे ।
अजिङ्गर जोडीले आत्महत्या गरेको केही दिनपछि राज्यमा अनिकाल भयो र हाहाकार मच्चियो । देशमा अजिङ्गर मर्न आएकाले अनिकाल भएको हल्ला चल्यो । राज्यको हितका लागि पूजापाठ गर्न राजा शिवदेवले आफ्ना गुरु शेखरलाई खोज्न पठाए, तर कसैले उनलाई भेट्टाउन सकेनन् । राजा शिवदेव स्वयम् गुरु शेखरको घरमा जादाँ ढोकाहरु खुल्ला रहेको र अजिङ्गरले घसे्रर गएको चिन्ह देखे । गुरु शेखरले जस्तोसुकै रूप लिन सक्ने थाहा भएको हुुनाले राजा शिवदेवले ती अजिङ्गर गुरु शेखर नै हुनुपर्ने विश्वास गरे । राजा शिवदेवले गुरु शेखर आचाजुको पराक्रम र गुणको बयान सबैले धेरै पछिसम्म सम्झिरहोस् भन्ने उद्देश्यले चैत्र महिनाको अन्तिम दिनमा एक जोडी अजिङ्गरको प्रतीक लिंगोमा दुईवटा हलिंपट फहराउन लगाए । यस जात्रामा लिंगो ढालेपछि विक्रम सम्वत्को नयाँ वर्ष शुरु हुन्छ । सोही जात्रा बिस्केट जात्राको रूपमा प्रख्यात् हुनपुग्यो ।
यी किंवदन्तीहरुलाई विश्वास गर्दै हरेक वर्ष काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रहरुमा हर्षोल्लासका साथ बिस्केट जात्रा मनाउँदै आइरहेका छन् । प्रायः जसो बिस्केट जात्रा भनेपछि भक्तपुर र मध्यपुर थिमिको जात्रा भनेर चिनिन्छ । तर यथार्थमा बिस्केट जात्रा साँगा, धुलिखेल, साँखु, टोखा लगायतका स्थानमा पनि हरेक वर्ष मनाउने गरिएको छ ।
टोखामा मनाइने बिस्केट जात्रा भक्तपुरमा मनाइने बिस्केट जात्राभन्दा फरक शैलीमा मनाउने गरिएको छ । टोखामा सर्पले दुःख दिएकाले पछि सर्पलाई मारेर ‘आइन्दा डराउनु पर्दैन’ भनेर बाँसमा झुन्ड्याएर सबैलाई देखाउँदै बिस्का नखः सुरु गरेको भन्ने किंवदन्ती रहेको छ ।
मनिराज डंगोलद्वारा लिखित ‘प्राचीन नेपाल तथा काठमाडौं उपत्यकाको उत्तरी प्रवेशद्वार’ मा उल्लेख भए अनुसार टोखामा बिस्केट जात्रा दुई चरणमा मनाइन्छ । टोखाका मूल नाइकेद्वारा शुभ साइत हेरेर पाहाँचः¥हेका बिहान लिंगो ठड्याइन्छ । सोही दिन बेलुकी संकटा माई र सपना गणेशको लुखाद्यः जात्रा गरिन्छ । घोडेजात्राका दिन बेलुकी तीनवटै देवगणहरुमा मरःजा खुवाउने व्यवस्था हुन्छ । पहिलो चरणको अन्तिम दिन बिहान सपना गणेशबाट संकटा माईलाई ढोग गराउने जात्रा भएपछि पहिलो चरणको बिस्केट जात्रा समाप्त हुन्छ ।
‘टोखाको चाडपर्व र संस्कृति’ पुस्तकमा अर्जुन श्रेष्ठद्वारा लिखित ‘टोखा बिस्केट जात्रा’ अनुसार बैशाख १ गतेदेखि जात्रा सुरु गरिने भनिए पनि सबै पुजारीहरुबाट जात्राको निमित्त सबै देवीदेवताहरुलाई अघिल्लो दिनमै देवस्थानबाट निकालेर देवघरमा राखिएको हुन्छ । कोथु गणेशलाई अघिल्लो दिन पूजा गरी राखेको ठाउँबाट एकाबिहानै ढक्कीमा राखेर घण्टा बजाएर परिक्रमा गर्न लैजान्छन् । तलेजुको पुजारीले पूजा गरिसकेपछि कोथु गणेशलाई देवघरमा ल्याएर राखिन्छ । कोथु गणेशलाई देवघरमा ल्याइसकेपछि द्यःखलःले भाले कुखुराको बलि दिएर समय्बजि खाने गर्दछन् । बैशाख सङ्क्रान्तिकै दिन सपनातीर्थ मेलामा नुहाउन जाने क्रम पनि सुरु हुन्छ । चैत मसान्तका दिन बागद्वारमा गएर बैशाख १ गते बिहान सपनातीर्थमा नुहाएर सम्पूर्ण देवीदेवताहरुको दर्शन गर्दा काममा सफलता मिल्छ भन्ने धारणा रहेको छ ।
सपनातीर्थमा हरेक वर्ष बैशाख सङ्क्रान्तिका दिन मेला लाग्दछ । मेला भर्न भक्तजनहरु टाढाटाढाबाट आउने गर्दछन् । चार दिन अघिदेखि पानी थुनिएको पोखरीमा नुहाउनेहरुको घुइँचो लाग्दछ । बैशाख सङ्क्रान्तिमा सपनातीर्थमा नुहाएमा शिवपुरी जंगलबाट जडिबुटीयुक्त रसाएर झर्ने गरेको पानीले कुष्ठरोग निको हुने विश्वास गरिन्छ । जात्रामा सात देवता–देवीहरु अर्थात् मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपनातीर्थका गणेश, कोथु गणेश र चण्डेश्वरीलाई खटमा राखेर नगर परिक्रमा गराइन्छ । मसानकाली र चण्डेश्वरीमा बैशाख सङ्क्रान्तिका दिन होम गरी पूजा गरिन्छ । मसानकालीमा थाल र पातको प्रयोग नगरेर पश्चिम दिशामा फर्केर भुइँमै पस्केर भोज खाइन्छ ।
बैशाख २ गते स–साना केटाकेटीहरुलाई मरःजा खुवाइन्छ । मरःजा खुवाइसकेपछि विधि विधान पु¥याएर देवदेवीहरुलाई खट्मा राखेर बाजागाजासहित सिन्दूर जात्रा गरी बाटोमा कपडा ओछ्याएर प्राचीन टोखा नगर परिक्रमा गराइन्छ । खट् परिक्रमामा कोथु गणेश र मसानकालीको भैरव (जाँड राखिएको तामाको ठूलो घ्याम्पो) पनि सँगै लाने गरिन्छ । परिक्रमापछि रथलाई भख्यः (भूतखेल) सँगै रहेको पिगंद्यः मसानकाली देवी अगाडि विराजमान गराइन्छ । यसरी सातवटै खटलाई लहरै बिसाइसकेपछि तलेजुबाट जीवित देवी कुमारीलाई लिन कुमारी घर जाने गरिन्छ । गणेश र कुमारीलाई खट्मा राखेर खलागः टोलमा लगेपछि ७ वटै खट्हरु एकैसाथ उठाएर जात्रा गरिन्छ ।
जात्रापछि सरस्वती र मुस्कानेश्वर महादेवलाई माथिल्लो लाछि (चोक) मा विराजमान गराइन्छ भने जीवित देवी कुमारी र गणेशलाई माथिल्लो लाछिमै ठड्याइएको लिंगो र नारायण मन्दिर परिक्रमा गराएर देवघरमा प्रवेश गराइन्छ । कोथु गणेश र मसानकालीलाई पनि लिंगो र नारायण मन्दिर परिक्रमा गराएर आ–आफ्नै देवघरमा प्र्रवेश गराइन्छ । भैरबलाई भित्र्याइसकेपछि त्यसभित्रको जाँड खाएमा पेट सम्बन्धी रोग निको हुने विश्वास पनि रहेको छ । त्यसैगरी अन्य देवदेवीहरुको खट्लाई पनि नगर परिक्रमापछि माथिल्लो लाछिमा लगेर बिसाइन्छ र सबै देवदेवीका खट्हरुलाई रातभर लहरै राखिने व्यवस्था गरिन्छ । त्यसै रात लाछिको डबलीमा टोखाको मौलिक याःप्याखं देखाइन्छ । यस नृत्यमा शब्द बोलको प्रयोग नगरिकनै बाजाको ताल र साङ्केतिक नृत्य मात्र हुने गरेको छ ।
बैशाख ३ गते बिहानै कोथु गणेशका पुजारीले सातवटै खट्मा पूजा गरिसकेपछि सिन्दूर जात्रा गरेर एकैचोटी उठाइन्छ । सातवटै खट्हरुलाई जरंछेँमा ल्याएर लस्करै विराजमान गराइन्छ । तलेजुबाट गणेश र कुमारी देवीलाई पनि जरंछेँमा ल्याइन्छ र जात्रा प्रारम्भ गरिन्छ । जरंछेँमा विभिन्न गुठीहरुद्वारा सातवटै खट्हरुको पूजा गरिन्छ । विभिन्न गुठी खलकहरुले आ–आफ्ना जिम्मेवारी अनुसार टोपी खलकले टोपी, झल्लर खलकले झल्लर हालेर खट सिंगार्ने काम गर्दछन् । जीवित देवी कुमारी र गणेशको उपस्थिति भएपछि सातवटै खट्हरुलाई बाजागाजा सहित सिन्दूर जात्रा गरेर उठाइन्छ । त्यसपछि गणेश र कुमारीको खट्हरुलाई तल्लो लाछिमा ल्याइन्छन् । सरस्वती र मुस्कानेश्वर महादेवलाई पनि तल्लो लाछिमै ल्याएर विराजमान गराइन्छ । अन्य पाँचवटा खट्हरुलाई सरस्वती खेलमा अवस्थित पोखरीमा डुबाएर जात्रा गरिन्छ । त्यसपछि ती पाँचवटै खट्हरुलाई भूतखेलमा रहेको मसानकाली मन्दिर घुमाइन्छ । यसैदिन टोखाको मूल ढोकाको बाटो छेक्ने परम्परा चल्दैआएको छ । देवदेवीहरु अन्य क्षेत्रमा नजाऊन् र धेरै समयसम्म जात्रा यतै होस् भन्ने मान्यताले बाटो छेक्ने गरेको विश्वास गरिन्छ । त्यसपछि पाँचवटै देवदेवीहरुलाई तल्लो लाछिमा लगिन्छ । त्यसैदिन बेलुका गणेश पुजारी परिवारले आफ्ना समूहका सदस्यहरुलाई भोज खुवाउँछन् र अर्को वर्ष पालो पर्नेलाई पाःब्व (ठूलो भोज) हस्तान्तरण गर्छन् ।
बैशाख ४ गते बिहानै सपना विनायकका पुजारीद्वारा सातवटै देवदेवीहरुको पूजा गरिन्छ । त्यसपश्चात् सबै खट्हरुको सिन्दूर जात्रा गरिन्छ र सरस्वती र मुस्कानेश्वर महादेवलाई गःछेँमा बिसाइन्छ । अन्य पाँचवटा खट्हरुलाई भने टोल परिक्रमा गराइन्छ । नगर परिक्रमापछि मसानकालीलाई आफ्नो मन्दिर वरिपरी जग्गा हुनेहरुको घरघर पु¥याएर धान माग्न जाने गरिन्छ, जसलाई स्थानीय भाषामा ‘बालि म्हयेगु’ भनिन्छ । अन्य देवदेवीहरुलाई इच्छाअनुसार परिक्रमा गराई गःछेँमा ल्याइन्छ । त्यसदिन गःछेँमा सबै देवीदेवतालाई मिलाएर अन्तिम जात्रा गरिन्छ । साँझतिर जीवित देवी कुमारी र गणेशलाई गःछेँमा ल्याइसकेपछि जात्रा प्रारम्भ हुन्छ । खट्हरुलाई कपडा ओछ्याएर गणेश र कुमारीको रथ पछाडि लहरै बनाएर नगर परिक्रमा गराइन्छ । अन्त्यमा तल्लो लाछिमा लगेर हर्षोल्लासका साथ सिन्दूर जात्रा गरिन्छ । त्यसपछि देवीदेवतालाई आ–आफ्नो घरमा प्रवेश गराइन्छ । प्रवेश गर्ने क्रममा ईकापःका (सागको बिऊ छर्ने) गरिन्छ । ईकापःका छर्दा बाहिर लगिएको समयमा देवतालाई कुदृष्टि नलाग्ने विश्वास गरिन्छ । देवीदेवतालाई प्रवेश गराइसकेपछि सफा गरेर आशन ग्रहण गराएर पूजा गरिन्छ । मध्यरातमा मसानकाली खलःद्वारा भखिं बाजा बजाएर अर्को वर्ष पालो पर्नेकोमा खट् पु¥याइन्छ । त्यस समयमा बजाएको बाजा सुने पनि नसुने जस्तो गरिन्छ । यस कार्यलाई कसैले पनि हेर्न नहुने मान्यता रहेको छ । यसप्रकार नयाँ वर्षको पहिलो महिना बैशाखमा हुने गरिएको बिस्केट जात्रा टोखामा सम्पन्न हुने गरेको छ ।
दृष्टिकोण- पढेर तपाइलाई कस्तो लाग्यो ? तल कमेन्ट बक्स छ बिचारको लागि
कुनै पनि बिषयमा संम्पादकीय तथा विचारको लागि हाम्रो ठेगानामा सम्पर्क राख्नु होला ।