जगदम्बा ब्रान्डको उत्पादक नै कालोबजारी अभियोगमा पक्राउ

काठमाडौँ । विश्व नै कोरोनाले आक्रान्त भएको बेलामा नेपाल समेत लकडाउनको अवस्थामा छ । यस्तो संकटको बेलामा समेत कालोबजारीमा संलग्न एक ठूला माछा प्रहरीको फन्दामा परेको खबर छ ।

व्यापारिक घराना जगदम्बा ब्रान्डको उत्पादक शङ्कर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक रहेका सुलभ अग्रवाल प्रहरीको फन्दामा परेका हुन् । उनलाई थर्मोगन (ज्वरो नाप्ने यन्त्र) को कालोबजारी गर्दागर्दै प्रहरीले पक्राउ गरेको हो ।

बजारमा अभाव रहेको ज्वरो नाप्ने यन्त्र(थर्मोगन) को पाँच हजार मूल्य पर्ने भएपनि उनले पन्धहजार गोटाले बेच्ने सर्तमा १० लाख मूल्य बराबरको थर्मोगन दिन तयार भएपछि उनी प्रहरीको फन्दामा परेका हुन् । प्रहरीले उनलाई थर्मोगन सहित नक्साल बाट पक्राउ गरेको बताइएको छ ।

बढी मूल्यमा विक्री वितरण भइरहेको सूचनासँगै कालोबजारी गर्ने मुख्य व्यक्तिलाई नियन्त्रणमा लिने प्रहरीको योजनासँगै अग्रवाल फन्दामा परेका हुन् ।

उनी आफै थर्मोगन लिएर डिल भएको स्थानमा आएका थिए । उनको साथबाट कीर्गिस्तानको अवैतानिक महावाणिज्य दूत रहेको सरकारी परिचय पत्र समेत बरामद भएको बताइएको छ । उनी २०९ एचसीसी १ नम्बरको कुटनीतिक सुविधाको गाडीमा कालोबजारी गर्ने उदेश्यले थर्मोगन लिएर आइपुगेका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाले अग्रवाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् । कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका अग्रवालले केही दिनअघि चीनबाट ब्यापारिक प्रयोजनका लागि कोरोना भाइरस सम्वन्धी स्वास्थ्य उपकरण ७ टन खरिद गरेकाे जानकारी पाएको प्रहरीले उनीमाथि निगरानी बढाँउदा पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ ।

Loading...