जेलबाट प्रधानमन्त्री ओलीलाई मर्मस्पर्सी खुला पत्र

श्री सम्माननीय प्रधान मन्त्री खडकप्रसाद शर्मा ओली ज्यू,
प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौ, नेपाल

विषय : ध्यानाकार्षण सम्बन्धमा ।

महोदय,

हाम्रै देशको उत्तरतिर हिमाल पारीपट्टीको छिमेकी देश चीनको बुहानबाट फैलिएको नोवेल कोरोना भाईरस (COVID-19) ले हाम्रो युगको मानव समाजलाई विश्वव्यापीरुपमा काल बनेर फैलिएको छ । हालसम्म विश्वको २०३ भन्दा बढी देशमा महामारी देखिएको छ भने ६० हजारभन्दा बढिको ज्यान लिइसकेको छ । विश्वका सबै कुनामा (COVID-19) ले चुनौति दिँदै निर्वाचित प्रस्तर काल बनेर फैलिएको छ । ८० लाख भन्दा बढि नागरिकहरु संक्रमित भएको अवस्था छ । यो संसारलाई नै संक्रमित गरेर मानव जीवनको दुस्मन बनेको छ । सबै वर्ग र जातिका मानिसलाई भेदभाव नगरिकन आफ्नो शिकार बनाइरहेको छ । वास्तवमा यतिबेला COVID-19 को मुख रगतले लतपतिएको छ । यो भाइरसको विरुद्धको लडाइमा संसारमा मानवजातिहरु एक ढिक्का हुन आवश्यक छ । हाम्रो देशमा यतिबेला लकडाउन गरिएको छ र प्रत्येक देशका नागरिकले एउटा रणमैदानमा उत्रेको सैनिकले जस्तै गरि सरकारको आदेशलाई अक्षरस पालना गर्नुपर्दछ ।

हामी प्रत्येक नागरिकले आफ्नो जीवन वर्वाद गर्ने कोरोनारुपी राक्षसको विरुद्ध उत्रन आवश्यक छ । सैन्य कमान्डमा सिक्यूको महत्व जति हुन्छ त्यो भन्दा पनि खरो रुपमा सरकारले यो भाइरसको विरुद्धमा सिङ्गो देशलाई उतार्न सक्षम हुनुपर्दछ । यो मोर्चाको अग्रपंक्तिमा रहेर अहोरात्र खट्नुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयमसेविकाहरुमा सलाम गर्नुपर्दछ । आफैले आफैलाई कमाण्ड गरेर आफैलाई कैद गर्नु आफ्नै निवासमा बस्नु नै तत्कालका लागि मुख्य हतियार हो । यो अवस्थामा सम्मानीय प्रधानमन्त्री ज्यू र सिङ्गो मन्त्रीमण्डलहरुलाई धन्यवाद दिनुपर्दछ । यो मोर्चा जित्नको लागि अझै कडा रुपमा सामना गर्न आफैलाई तयार पार्नुपर्दछ । स्मरण गरौ हामीले जुनसुकै आदेशको पालना गरेर यो COVID-19 लाई जित्नुपर्दछ ।

हामीले चिनियाँ जनताले देखाएको अनुशासनबाट सिकौ यतिबेला व्यक्तिगत स्वार्थ, इज्जत र रहरहरुलाई तिलाञ्जली दिन सकौं । आफू बचौं र बचाऔं बाँचेपछि प्रियजनसँग रमाइलो गर्ने मौका आउनेछ । घरमै बसौ, एक्लै रमाऔ त्यो रमाइलो भेटघाटको मिठो प्रतिक्षा धैर्यतापूर्वक गरौ, यही नै आजको आवस्यकता हो । हामीलाइ थाहा छ १४ औं शताब्दीको मध्यतिर फैलिएको (ब्ल्याकडेथ) नाम गरेको महामारी रोगले विश्वको आधा जनसंख्यालाई आफ्नो शिकार बनाएको थियो । ४५ करोड मध्ये २० करोडको ज्यान गएको थियो । सन १९६८ मा हङकङमा देखिएको यो भाईरसले १७ दिनमै विश्वका अनेकौं देशहरुमा फैलिएको थियो । मृत्युदर निकै कम ०.५ प्रतिशत भएर पनि यो भाइरसबाट १८ लाख भन्दा बढीको ज्यान गएको थियो । सन १९१० देखि ११ मा कलकताबाट फैलिएको हैजाले यतिबेला भारतमा मात्र ८ लाखभन्दा बढिको ज्यान गएको थियो भने मध्यपूर्व, उत्तरी अफ्रिका, युरोप र अमेरिकामा महामारी रुप लिएको थियो । सन २००२ को नोभेम्वरमा ग्योङडोम प्रान्तबाट सुरु भएको सिजियर क्युर रेस्पोरेटरी सिन्ड्रोम (सार्स) बाट नै ९ महिनामा विश्वभर ८ हजार ७४ जना संक्रमित भएकोमा ७७४ जनाले ज्यान गुमाएका थिए । सन् २००९ मा अमेरिकामा इन्फुलुन्जा ए (H1N1) भाइरस पत्ता लाग्यो र यो तुरुन्त विश्वभर फैलियो । लाखौ मानिस यसबाट प्रभावित भए पनि अमेरिकामा जम्मा १२,४६९ जनाको मृत्यु भएको थियो भने विश्वभरको १४ हजारको ज्यान गएको थियो । सन् १९५६ बाट सुरु भएको रसिएन फ्लुले मात्र करिब २० लाखको ज्यान गएको थियो । यो भाइरस पनि चीनको बुङझाउ प्रान्तबाट फेला परेको थियो । २ वर्ष भित्र सिंगापुर, हङकङ र अमेरिकासम्म पुगेको थियो । अमेरिकामा मात्र यसबाट झण्डै ७० हजारको ज्यान गएको थियो । सन् १९७३ मा डेमोक्रेसी रिपब्लिक कङ्गोमा पहिलो पटक पहिचान भएको एचआइभी एड्स वास्तवमै डरलाग्दो महामारी थियो । १९८१ यता मात्र यो रोगबाट ३ करोड ६० लाख मानिसले ज्यान गुमाइसकेका छन् र ३ करोड मानिस यो रोगबाट अहिले पनि संक्रमित छन् । अहिलेसम्म दारु रोगको औषधि पत्ता लागेको छैन ।

सन १९१८–१९२० बीचमा स्पेनिस फ्लू भनिने इन्फ्लूयन्जाको भयानक महामारी फैलिएको थियो यद्यपि यो स्पेनबाट आएको थिएन, यो भाइरसबाट विश्वको एक तिहाइ जनसंख्या संक्रमित भएको थियो । यसबाट ५ करोडभन्दा बढिको ज्यान गएको थियो । यसको मृत्युदर २० हजारभन्दा बढि थियो । सन् १९८९ मा रसियन फ्लू नामको महामारीले लाखौको ज्यान लिएको थियो । यसको सुरुवात साईवेरियाबाट भएको थियो । पछि मस्को हुँदै कजाकस्थान, इङ्ल्यान्ड, पोल्यान्ड, युरोप, अफ्रिका र अमेरिकासम्म फैलिएको थियो । यो संक्षिप्त जानकारीका लागि मात्र हो, किनकि COVID-19 ले यो विश्वमा अझै कयौ लाख मान्छेलाई संक्रमण गर्न र हजारौको ज्यान लिने निश्चित छ । सिङ्गो विश्वलाई नै छोप्ने गरी ५ महिनामा जसरी आकार लियो, यो निकै खतरनाक छ । यसबारे गम्भीर हुन र यसको संक्रमणबाट बच्न कुनै कसुर बाँकी राख्नु हुँदैन । मैले माननीय श्री गगन थापाले तपाईलाई लेखेको पत्र पनि हेरे । यतिबेला यो कोरोना भाइरस COVID-19 का विरुद्ध लड्न को सत्तापक्ष र को प्रतिपक्ष भन्ने होइन सबै एउटै लक्ष्य र स्वार्थका साथ अयखष्मज्ञढ को विरुद्दको मोर्चामा एकजुट हुनुको विकल्प छैन ।

प्रधानमन्त्री ज्यू, हामी विभिन्न कारण र परिबन्धले जेलमा बन्दी जीवन बिताउँदै छौं । आज कोरोना भाइरसले देशलाई नै जेल बनाइदिएको छ । त्यसभित्रका परम्परावादी जेलभित्र हामीले प्रायश्चितपूर्ण दिन काट्दै बन्दीहरुसँग सति गइरहेका छौं । यो जेलजीवनले जिउदा कलंकका लासहरुमा बदलिइको छ । जेल, अभाव, समस्या र पीडाले मात्र थलिएको छैन बरु कोरोना भाइरसको त्रासले त्रासदिपूर्ण आतंकले मुटु नै कापेको छ । जेल भित्र सडेर मर्नुप¥यो भने छ के होला ? दशौ पुस्ताको लागि श्राप दिने कलंकको पात्र हुन कसलाइ पो रहर हुन्छ र ? तपाई पनि एउटा राजबन्दी भएर १४ वर्ष जेलजीवन बिताएको दुर्लभ नेता हो । तपाई अहिले यो शदीको शक्तिशाली प्रधानमन्त्री हो । यो देशले २०७२ को महाभुकम्पको दर्दनाक पीडामा १७ जना बन्दीहरुको एउटै चिहान हुँदा पनि बाँचेका बन्दीहरुको बारेमा केही सोचेन । देश सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नयाँ दस्तावेज तयार गर्दा पनि बन्दीहरुका मुलुकी आचार संहिता लागू गरेपछि त झन पुराना कतिपय मुद्दाका कैदीहरुले थप सजाए काट्नुपर्ने दुःखद स्थिति विद्यमान छ । अझ आज संसारभरि नै कोरोनाको महामारी छ, कयौं मुलुकहरुले र हाम्रो छिमेकी मुलुक भारतले समेत आफ्नो देशका कैदीहरुलाई विभिन्न शीर्षकमा (जमानत र पैरल) गरी ५० हजारभन्दा बढीलाई जेलमुक्त गरेको छ । हामी ६० जनाको क्षमता भएको जेलमा ३५० भन्दा बढीको संख्यामा खाँदिएर बसेका छौं । देशका सबै कारागारका हालतहरु उस्तै दर्दनाक छन् । यस्तो अवस्थामा राज्यले कुनै भरपर्दो शर्त र निगरानीमा कैदीहरुलाई मुक्त गर्ने कानुनी बाटो खोज्न सम्भव छैन र ?

एउटै घरका सदस्यबीचमा समेत ३ फिटको दुरी कायम गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको निर्देशन छ । हामी भने मान्छे माथि मान्छे चाङ लागेर दैनिकी कटाइरहेका छौं । के यो जोखिमपूर्ण अवस्था होइन ? के हजारौ बन्दीहरुलाई यो अहिलेको संकटको घडीमा अमानवीय ढङ्गले मानसिक एवम् भौतिक यातनाबोध भएको छैन होला ? कैद सजाय काटेर एक न एक दिन त आउछ भनेर कुरी बसेका घरपरिवार, छोराछोरी र आफन्तजनको विश्वासमा यतिबेला आशंकाको कालो बादल मडारिएको छ । के यस्तो संकटको बेलामा जेलका आफ्ना हजारौं नागरिकका बारेमा आफ्नो सरकारले एउटा कूशल अभिभावक बनेर आफ्नो भूमिका निभाउन सक्ला ? यो एउटा चुनौती र सम्भावना बोकेको यक्ष प्रश्न हो । लाग्छ एउटा भरपर्दो सर्त, निगरानी र जिम्मेवारीमा राखेर जेलमा पल पल मरिरहेका आफ्ना हजारौं नागरिकहरुको जीवन रक्षा गर्न असम्भव छैन । यसबारेमा समेत सरकारको ध्यान जानेछ, भन्दै थुनिएकै व्यक्तिले बन्द ढोका घच्घच्याउनु आफ्नो कर्तव्य ठाने र मैले यो यदि अपराध होइन भने कृपाया जेलको एउटा कैदीले आफ्नो देशको प्रधानमन्त्रीलाई हजारौ बन्दीहरुको आवाजको प्रतिनिधित्व गर्दै एउटा निवेदन चढायो भनेर सम्झिदिनुहोला अहिले यति लेखु बाँकी हजुरको जो आदेश ।

विजय केसी (विकल्प)
कास्की कारागार, पोखरा
२२ चैत २०७६