नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु,

काठमाडौँ, ९ चैत । काठमाडौँमा एलपी ग्यासको ढुवानी माग भन्दा बढि गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ । ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । सङ्घका अनुसार एलपी ग्यास मागभन्दा बढी आयात भएको छ तर पसलमा ग्यास नपाउने समस्या समाधान नभएपछि दैनिक तथ्याङ्क माग गरिएको हो ।

उपभोक्ताले अनावश्यक रूपमा अत्यधिक ग्यास मौज्दात राखेको र एउटैले ५० औँ सिलिन्डर रिजर्भ गरेकाले सर्वसाधारणले ग्यास नपाएको सङ्घको बुझाइ छ । अनावश्यक भण्डारण रोक्न उपभोक्ताको विवरण राख्न लागिएको अध्यक्ष भण्डारीको भनाइ छ । भारतबाट जति ग्यास आयात गरिए पनि बजारमा अभावै देखिएकाले अब कसले कति ग्यास लगेको छ त्यसको तथ्याङ्क राखिने भएको हो । अध्यक्ष भण्डारीले भने, विवरण सङ्कलनले ग्राहकको पहिचान हुने छ, जसले गर्दा दैनिक रूपमा दोहो-याएर ग्यास लैजान पाउने छैन, अनावश्यक भण्डारण हुन पाउने छैन, बजारमा अभाव हुने छैन, सबैले ग्यास पाउने छन् ।

सङ्घका अनुसार बिक्रेताले बिक्री गरेको ग्यासको सङ्ख्या, मौज्दात सङ्ख्या, उपभोक्ताको नाम ठेगाना, सम्पर्क नम्बर र उनीहरूले कतिपटक ग्यास खरिद गरे भन्नेसम्मको विवरण सम्बन्धित उद्योगलाई दैनिक रूपमा लिखित जानकारी गराउनुपर्ने छ । जसले गर्दा आपूर्तिलाई सहज बनाउने भण्डारीको दाबी छ । सङ्घका अनुसार गएको २० दिनमा ३२ हजार मेट्रिक टन ग्यास बजारमा पठाइएको छ । जब कि नेपालमा मासिक ४० हजार मेट्रिक टन ग्यास खपत हुन्छ । सामान्य अवस्थामा दैनिक १३ सय मेट्रिक टन खपत हुन्छ भने अहिले दैनिक १६ सय मेट्रिक टन खपत भइरहेको छ ।

कोरोना भाइरसको त्रासले अभाव हुने आशङ्कामा उपभोक्ताले अनावश्यक ग्यास सिलिन्डर मौज्दात राखेपछि बजारमा अभाव हुन पुगेको सङ्घले जनाएको छ । भण्डारीले भने, एउटै परिवारले धैरै ग्यास लैजाने तर अरूले नपाउने अवस्थाको अन्त्य गर्ने र बिक्रेताले पनि समानुपातिक हिसाबले वितरण गरेको छ छैन भन्ने कुराको जानकारीका लागि तथ्याङ्क माग गरेका हौँ । यसले दीर्घकालीन रूपमा ग्यास वितरणमा सहजता हुने उनको दाबी छ ।

ग्यास वितरणमा दीर्घकालीन संयन्त्र जरुरी रहेको अध्यक्ष भण्डरीको भनाइ छ, आपूर्तिमा दुईचार दिन असहज हुँदा ग्यास वितरणमा समस्या हुन्छ बजारमा अभाव भइहाल्छ, काठमाडौँको एउटा परिवारले कम्तीमा १५÷१६ वटा सिलिन्डर राख्ने हैसियत राख्छ तर सामान्य कोठा भाडामा बस्नेले राख्दैन, टाठाबाठाले सिलिन्डर भण्डारण गर्ने अरूले नपाउने अवस्थाको अन्त्य गर्न सरकारले बलियो संयन्त्र बनाउनुपर्छ ।

सङ्घले दुई वटाभन्दा बढी सिलिन्डर मौज्दात नराख्न अनुरोध गरेको छ । नयाँ सिलिन्डर बिक्रीमा रोक लगाइएको अवस्थामा वितरण प्रणालीमा असर हुने र सुरक्षाका हिसाबले पनि असुरक्षित भइने हुनाले ग्यास सिलिन्डर अनावश्यक मौज्दात नराख्न सङ्घले सूचना जारी गरेको छ । बढी मौज्दात राखियो भने ग्यास वितरण प्रणाली भर्ने, बजारमा पु¥याउने र बजारबाट खाली सिलिन्डर उद्योगमा लगेर भरेर फेरि बजारमा पठाउने प्रक्रिया ९सिलिन्डिर साइकल०मा प्रभाव पर्ने बताइएको छ ।

उपभोक्ता संरक्षण ऐनमा कालोबजारी गर्ने वा अनावश्यक रूपमा भण्डारण गरी बजारमा अभाव सिर्जना गर्नेलाई कारबाही गरिने व्यवस्था रहेको भन्दै सङ्घले बढी मौज्दात नराख्न आग्रह गरेको छ तर उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरिएकाले केही दिनमै ग्यासको खपत घट्ने दाबी गरिएको छ ।

Loading...