अध्यक्षद्वय ओली झापामा, प्रचण्ड नेपालगञ्ज

काठमाडौं, ४ फागुन । नेकपाका शीर्ष नेता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड जिल्ला दौडाहामा निस्किएका छन ।प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा सम्पन्न भएका विभिन्न विकास निर्माणको आयोजनाका लागि दमक पुगेका हुन भने प्रचण्ड पार्टीले आयोजना गरेको सभा उद्घाटनका लागि नेपालगञ्ज पुगेका हुन ।

भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की लगायतले स्वागत गरेका छन । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएका थिए ।

प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ पनि झापा पुगेका छन । प्रधानमन्त्रीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावा खोलामा बनेको पक्की पुलको उद्घाटन, दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्नेछन ।

यसलगत्तै उनले बेलडाँगीमा आयोजना गरिएको सभालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने पत्रकार चेतन अधिकारीले जानकारी दिए । प्रचण्ड भने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको संगठन सुदृढीकरण अभियानका कार्यक्रममध्येको एक नेपालगञ्जबाट सुरु भएको अभियानमुखी सभाको उद्घाटनका लागि नेपालगञ्ज पुगेका हुन । प्रचण्डसँगै गृहमन्त्री रामवहादुर थापा पनि सोही सभामा सहभागी भएका छन ।

Loading...