गच्छदारसहित १७२ जनाविरुद्ध गृह मन्त्रालयले दियो ठगी र किर्ते गरेको जाहेरी

काठमाडौँ, २ फागुन । बालुवाटारस्थित ललिता निवास जग्गा अवैध रुपमा आफ्नो नाम गराएको प्रकरणमा गृह मन्त्रालयले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७२ जनाविरुद्ध किर्ते र ठगीको मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी मा जाहेरी दिएको छ । यसअघि माघ २७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख निरज शाहीले फौजदारी न्याय प्रणालीअनुसार ठगी र किर्ते मुद्दामा पीडित पक्षबाट उजुरी आवश्यक पर्ने भएकाले जाहेरीको अभाव भएको बताएका थिए ।

जग्गा खरिदबिक्रीमा संलग्नहरूमध्ये गलत निर्णय गर्ने पदाधिकारी, नक्कली मोही, दलाल र खरिदकर्तासहित विभिन्न ‘वर्ग’मा विभाजन गरी कतिपयलाई प्रहरी हिरासतमा राखेर ठगी र किर्तेमा अनुसन्धान गर्नुपर्ने र त्यसका लागि ठगी र कीर्ते मुद्दा चलाउन गृह मन्त्रालयले लिखित उजुरी वा निर्देशन दिनुपर्ने ब्युरोले जनाएको थियो ।बालुवाटारमा रहेको २५८ रोपनी जग्गा गृह मन्त्रालय अन्तर्गत छ ।

सीआईबीले १३६ रोपनी सरकारी जग्गा खरिदबिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी, सरकारी कर्मचारी, नक्कली मोही, दलाल, बिक्रीकर्ता र खरिदकर्ता गरी १७२ जनाविरुद्ध कारबाहीको सिफारिस गरेको छ । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीले जग्गा हडप्नेविरुद्ध मुलुकी ऐन, २०२० र मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार ठगी र किर्तेको अभियोगमा मुद्दा चलाउन निवेदन दिएसँगै सीआईबीको छानबिनमा कसुरदार देखाइएका पूर्वमन्त्री, पूर्वसचिव, अन्य कर्मचारी, भूमाफियालगायतलाई पक्राउ गरेर अनुसन्धान थाल्न बाटो खुलेको छ ।

Loading...