केजरीवालले रामलिला मैदानमा मुख्यमन्त्रीको शपथ लिने

एजेन्सी । दिल्ली विधानसभा चुनावमा भारी बहुमतका साथ जित हात पारेपछि आम आदमी पार्टीले अरविन्द केजरीवाललाई विधायक दलको नेता चयन गरेको छ।

केजरीवालले आइतबार (फेब्रुअरी १६) मा दिल्लीको रामलिला मैदानमा तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीको सपथ लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले बुधबार बिहान राजभवन पुगेर उपराज्यपाल अनिल बैजलसँग भेट गरेका थिए। करिब १५ मिनेट भएको उक्त भेटमा शपथ ग्रहणको विषयमा कुराकानी भएको बताइएको छ।

नवनिर्वाचित विधायकहरुले बुधबार विहान केजरीवालको निवासमा पुगेर उनीसँग भेटघाट गरेका थिए।

मंगलबार भएको मतगणनामा आम आदमी पार्टीले दिल्लीको ७० विधानसभा सिटमध्ये ६२ मा जित हात पारेको थियो। केन्द्रमा सरकारको नेतृत्व गरिरहेको भाजपाले केवल ८ सिट जितेको छ।

जितपछि मंगलबार पार्टी मुख्यालय पुगेर केजरीवालले कार्यकर्तालाई सम्बोधन गरेका थिए।