चीनमा गयो शक्तिशाली भूकम्प

एजेन्सी, कोरोनाभाइरसको महामारीले आक्रान्त चीनमा सोमवार बिहान भूकम्प आएको छ । दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआनको छङ्दुमा ५.१ म्याग्निच्युडको भूकम्प आएको हो । भूकम्पको केन्द्रविन्दु छङ्दुभन्दा ३५ किलोमिटर पर रहेको छ । जमीनबाट २१ किलोमिटर मुनिबाट भूकम्प शुरू भएको बताइएको छ ।

भूकम्पको झड्का लगभग १० सेकेन्डसम्म अनुभव गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रमा १५० जना उद्धारकर्ता र ३४ वाहन पठाइएको छ । अहिलेसम्म कुनै हताहतीको सूचना नआएको चीनको समाचार संस्था सिन्ह्वाले जनायो ।

भूकम्प आएपछि स्थानीयहरू घरबाहिर सुरक्षा मास्क लगाएर उभिएका थिए । केही मानिसले घरबाट सिरक लगेर कारभित्र रात बिताएका थिए । त्यस्तै विश्वका विभिन्न देशमा फैलिदै गएको कोरोना भाइरस विरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन्। ‘हामीले अहिले कोरोना भाइरसका पाँच स्वरूपलाई छुट्याउन सफल भएका छौँ जसमध्ये दुई यसको खोप निर्माणका लागि उपयोगी देखिएका छन् । अनुसन्धानमा संलग्न एक चिनियाँ विषेशज्ञले भने।

अनुसन्धानमा संलग्न चिनियाँ विषेशज्ञ लि लाङजुनका अनुसार कम्तीमा तीन महिनामा खोपलाई परीक्षणमा ल्याउन सकिने आशा गर्न सकिन्छ ।कोरोना भाइरसका कारण हालसम्म चीनमा मात्रै ३ सय ४ जनाको मृत्यु भएको छ।चीनको पनि हुवेई प्रान्तमा यो भाइरसका कारण मृत्यु हुनेको संख्या बढी रहेको बिबिसीले समाचार सम्प्रेषण गरेको छ ।

चीनमा हालसम्म १४ हजारभन्दा बढी मानिसमा यो भाइरसको संक्रमण भेटिएको छ। उता चीनबाहिर भने पहिलोपटक एक जनाको मृत्यु कोरोना भाइरसका कारण भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाट फिलिपिन्स पुगेका एक जनाको यो भाइरसका कारण मृत्यु भएको हो। उनलाई चीनमा भएकै बेला कोरोनाको संक्रमण भएको थियो।

भारतले जारी गर्दै आएको अनलाई भिसामा पनि यो भाइरसको असर परेको छ। भारतले चिनियाँ नागरिकका लागि जारी गर्दै आएको अनलाईन भिसा समेत तत्कालका लागि बन्द गरेको छ। भारतमा कोरोना भाइरसको दोस्रो संक्रमण भेटिएपछि अनलाईन भिसामा भारतले कडाइ गरेको हो। चीनको हुवेईबाट भारतले २ सय २३ नागरिकलाई स्वदेश फर्काएको थियो।

Loading...