धनगढीमा २३ बर्षीय स्टाफ नर्सद्धारा आत्महत्या

धनगढी, २० माघ । धनगढीमा २३ बर्षीय स्टाफ नर्स मृत्यु प्रकरणमा मृतकका श्रीमानविरद्ध आत्महत्या दुरुत्साहनमा मुद्धा परेको छ । माघ १३ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ३ स्थित आफ्नै डेरामा २३ बर्षीय स्टाफ नर्स देविका श्रेष्ठ मृत फेला परेपछि उनका माईती पक्षले श्रेष्ठका श्रीमान भारतीय नागरिक बिक्की अग्रवालविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार दाङको घोराहीमा रहेका मृतकका माईती पक्षले आत्महत्या गर्न बाध्य पारेको भन्दै अग्रवाल विरुद्ध दुरुत्साहनमा मुद्धा दर्ता गरेका हुन् । अग्रवाललाई पक्राउ गरी घटनाको अनुसन्धान भईरहेको उनले बताए।

मुलुकी अपराध संहिता लागु भएपछि आत्महत्या दुरुत्साहन सम्बन्धी उजुरी पर्न थालेका हुन् । मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ।

यस्तो थियो घटना

१६ महिना अगाडी देविक श्रेष्ठ दाङको घोराहीमा रहेको एक अस्पतालमा कार्यरत रहँदा भारतीय नागरिक बिक्की अग्रवालको पनि सोही अस्पतालमा उपचार भईरहेको थियो। अस्पतालमै उपचार गराईरहेको समयमा बिक्की र देविका नजिकिए। दुवै जना सामाजिक सञ्जाल फेसवुकमा पनि जोडिए।

कुरा गर्दागर्दै दुवै एकअर्काको प्रेममा परे र १५ महिना अगाडी कसैलाई पनि जानकारी नदिएर भागी विवाह गर्दै धनगढी आए। पहिले नै विवाहित बिक्कीले पनि आफ्नो घरबाट सम्पर्क टुटाए भने देविका पनि आफन्त र साथीहरुसंग पूर्णरुपमा सम्पर्कवहिन भईन्।

योबिचमा दुवै जनाले पुरानो फेसवुक समेत डिएक्टिभ गरिसकेका थिए। देविकाका आफन्तले जिल्ला प्रहरी कार्यालय दाङमा खोजतलासका लागि निवेदन दिएका थिए र उनको खोजी समेत भईरहेको थियो। भागी विवाह गरेर धनगढी बस्दै आएका बिक्की र देविकाबिच १५ महिनाको अवधीमा विवाद भने बढ्दै गएको थियो।

माघ १३ गतेपनि माया मेट्रो अस्पतालमा ड्युटी सकिएपछि बिक्कीले नै देविकालाई कोठा सम्म पुगाएका थिए। सो क्रममा पनि उनीहरुबिच सामान्य विवाद भएको थियो। स्थानीयका अनुसार अस्पतालबाट ल्याएर देविकालाई कोठामा छोडेर बिक्की बाहिर निस्किएका थिए। सोही समयमा उनले झुण्डिएर आत्महत्या गरेको आशंका गरिएको छ।

Loading...