१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रहरीमा आवद्ध पदक बिजेता खेलाडीहरु सम्मानित

माघ १९ , काठमाडौँ ।

नेपाल प्रहरीमा आबद्द १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग मा पदक बिजेता खेलाडीहरु सम्मानित भएका छन् । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्न सफल नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुलाई नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको छ ।
कार्येक्रममा कोरियन तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर क्वान योङ दाल, कराते प्रशिक्षक राजेश श्रेष्ठ र जुडो प्रशिक्षक प्रहरी नायव निरीक्षक देवु थापालाई समेत दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।


नेपाल प्रहरी खेलकुद समितिद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार आयोजित कार्यक्रमबीच उहाँले खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गर्नुभएको हो ।

प्रहरी महानिरीक्षक खनालले कार्येक्रममा नेपाल प्रहरीमा आबद्ध खेलाडीहरुले राष्ट्रको होनहार खेलाडीको रुपमा अदम्य साहस र सीपका साथ व्यवसायिक भई देशको इज्जत बढाउने कार्य गरेकाले हार्दिक बधाई ज्ञापन गर्नुभयो । राष्ट्र र राष्ट्रिय एकताको सन्दर्भमा नेपाल प्रहरीका खेलाडीहरुले आफ्नो व्यवसायिक क्षमता प्रदर्शन गर्दै आएको इतिहास रहेको उल्लेख गर्दै खेलाडीहरुको योगदानको उच्च कदर गरेर सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

नेपाल प्रहरीले सुरक्षाको दृष्टिकोणले समेत १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सौहार्दपूर्ण वातावरणमा सफल पारेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले पदक जित्ने लक्षित उद्देश्य समेत नेपालले हासिल गर्न सकेको सन्दर्भमा यो राष्ट्रकै लागि गौरवको क्षण भएको उल्लेख गर्नुभयो । यस्ता कार्यक्रमले खेलाडीहरुमा प्रोत्साहन र उर्जा प्राप्त भई आगामी दिनमा थप सफलता हासिल गर्न सक्ने विश्वास लिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले खेलाडीहरु देशकै निम्ति भएकाले थप जोश, जाँगर सहित मर्यादित र अनुशासित भई अझै कडा मेहनतका साथ राष्ट्रका लागि खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतियोगितामा नेपाल प्रहरी आबद्ध खेलाडीहरुमध्ये सिंगल खेलतर्फ स्वर्ण पदक विजेतालाई नेपाल प्रहरीले १ लाख २५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ६० हजार रुपैयाँ र कास्य पदक विजेतालाई ३० हजार रुपैयाँ तथा सामूहिक खेलतर्फ स्वर्ण पदक विजेतालाई ७५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ४० हजार रुपैयाँ र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरेको हो । उक्त प्रतियोगितामा नेपाल प्रहरीमा आवद्ध ९२ जना खेलाडीहरु विभिन्न खेलहरुमा सहभागी भएका थिए ।

उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले समेत आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महनिरिक्षक खनालले शनिबार एक कार्येक्रममा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ्गमा स्वर्ण पदक विजेता सनिल शाही र तेक्वान्दो खेलमा रजत पदक बिजेता मनिता शाहीलाइ नगद सम्मान गर्नु भएको थियो ।

गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ वटा पदक हासिल गर्न सफल भएका थिए ।

नेपाल प्रहरीको खेलकुद गतिविधि सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको सो कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु उपस्थिति रहेको थियो ।

Loading...