थारु नाचको संरक्षण गर्न आयोजना गरिएको भडछा महोत्सव सम्पन्न

सैनामैना, १२ माघ । रुपन्देहीमा लोपोन्मुख थारु समुदायका तीन नाचको संरक्षण गर्न थालिएको छ । थारु समुदायका अगुवाले थारु संस्कृति लोप हुने स्थितिमा पुगेको भन्दै विभिन्न महोत्सव र मेला गरेर झुमडा, झर्रा तथा बड्का नाच प्रदर्शन गरेर संरक्षण गर्न लागिएको बताएका छन् । रातिमा सुरु भएर राति नै सकिने ११० औँ भडछा महोत्सव शनिबार सम्पन्न भएको छ ।

गत बिहिबार देखि सैनामैनाको भडछामा जारी ११० औँ भडछा महोत्सव तथा माघे औँसी मेलाको शनिबार सैनामैना नगरपालिका वडा नं ८ का वडाध्यक्ष रामशरण न्यौपानेले समापन गरेका थिए । महोत्सवका सभापति समेत रहेका न्यौपानेले कार्यक्रमको समापनमा बोल्दै पश्चिमी संस्कृति हावी भईरहेको अवस्थामा स्थानीय स्तरमा सामाजिक मुल्य, मान्यता बोकेका संस्कृत जोगाउन सबै लागि पर्नु पर्नेमा जोड दिएका थिए ।

यस्तै, समापन समारोहमा बोल्दै समारोहका प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले थारु समुदायका संस्कार, संस्कृति जोगाउन मेलाले महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले हाम्रा समुदायमा रहेका संस्कृति जोगाउन सबैलाई आग्रह समेत गरेका थिए । उनले भने थारु संस्कृति बचाउन नगरले नै अपनत्व गर्दै महोत्सव सञ्चालन गर्न स्टेज निर्माण गर्न आर्थिक सहयोग गरेको बताए ।