अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

यसअघि आइतबार बिहान नै नेता सापकोटाको नाममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सहमति भएकोमा सचिवालय बैठकले औपचारिक निर्णय गरेको हो ।

तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ भने सो पद कसले लिने भन्नेमा नेकपाभित्र विवाद बन्दै गएकोमा आइतबार ओली र प्रचण्डबीच पूर्वमाओवादी समूहका सापकोटाको नाममा सहमति जुटेको हो ।

पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११,१६ र २७ गते सुचना टाँस गरेर स्थगित हुँदै आएको छ । अर्को बैठक माघ ६ गतेलाई बोलाइएको छ । माघ ६ गते बस्ने बैठकमा सभामुखको निर्वाचन प्रकृया सुरु गर्ने तयारी छ ।

यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङलाई अघि सारेका थिए भने प्रचण्डले पुरानो सहमति कार्यान्वयन गर्न पनि पूर्वमाओवादी सहमतिबाट सापकोटाको नाम प्रस्ताव गरेका थिए । गत असोज १४ पछि प्रनिधिसभामा सभामुख पद रिक्त छ ।

Loading...