दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रशासनको अनुमति

काठमाण्डौं, २ माघ । झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पूर्जी जारी गरेको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको उजुरीका आधारमा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । गिरीले प्रसाईंविरुद्ध अभद्र व्यवहार गरेक भन्दै उजुरी दर्ता गरेका थिए । उक्त कसुरमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी सविन प्रधानले अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी भएको जानकारी दिए । प्रसाईंविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न भनेर पक्राउ गर्ने अनुमति प्रशासनले दिएसँगै उनको खोजी भएरहेको बताइएको छ ।

प्रसाईंले पत्रकार सम्मेलन नै आयोजना गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले आफूसँग २० लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए । पछि, आयोगका उपाध्यक्ष गिरीले पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंले लगाएको आरोपको खण्डन गरेका थिए ।

गिरीले प्रसाईंविरुद्ध मानहानी गरेको तथा आफूलाई असुरक्षित हुने गरी गतिविध गरेको आरोप लगाएर महानगरीय प्रहरी परिसर भक्तपुरमा समेत उजुरी दिएका थिए । गिरीको सोही उजुरीका आधारमा प्रशासनले प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि उनी भने अहिले फरार छन् ।

Loading...