तिर्खाले रन्थनिएका कालिदास कुनै गाउँको एउटा घरमा पुगेर पानी माग्छन् । ढोकाबाट एक युवती निस्कन्छिन । ज्ञानले भरिपूर्ण कालिदास र युवतीबीच यस्तो संवाद चल्छ ।
कालिदास पथिकलाई पानी दिएर पुण्य कमाउनुस् ।
युुवती : मैले तपाईंलाई चिनेकै छैन । आफ्नो परिचय दिनुस् ।
कालिदास : म पाहुना हुँ ।
युवती : संसारमा पाहुना दुई मात्र छन । पहिलो धन, दोस्रो यौवन । यिनीहरु आउन, जान समय लाग्दैन ।
कालिदास : म सहनशील हुँ । अब त पानी दिनुस् ।
युवती : झूट । सहनशील पनि दुई नै छन् । पहिलो पृथ्वी, दोस्रो वृक्ष । पृथ्वीले पापी धर्मात्मा दुवै बोक्छिन, वृक्षले ढुंगा हान्नेलाई पनि फल दिन्छ ।
कालिदास : म हठी हुँ, अब त भो ।
युवती : फेरि ठग्नु भो । हठी त नङ र कपाल हुन, जो जति काटे पनि पलाउन छोड्दैनन् ।
कालिदास : म मूर्ख हुँ ।
युवती : मूर्ख असम्भव । सवैभन्दा ठूलो मुर्ख भनेको शासक हो । जसले आफ्नो अयोग्यताको बाबजुद् योग्यहरुमाथि शासन गर्छ । अर्का मूर्ख उनीहरुका वरपरका भजन मण्डली हुन । जसले शासक खुशी बनाउन झूठलाई पनि सत्यको जामा लगाएर सही सावित गर्न खोज्छन् ।
युवती : उठ्नुस महाशय । संवादबाट कायल कालिदास मुन्टो उठाएर यसो हेर्छन त साक्षात सरस्वती देवीको अवतार ।
सरस्वती : शिक्षाबाट अहंकार नभएर ज्ञान हासिल गर्नुपर्छ । शिक्षाको बलबाट प्राप्त मान र प्रतिष्ठालाई नै उपलब्धि मानेर तिमीले घमण्ड गर्यौ । यसकारण तिम्रो तेस्रो नेत्र खोल्न म उपस्थित भएकी हुँ ।
२००७ साल यता नेपालमा ६८ वटा सरकार बने । १३ सयले मन्त्रीको जागिर खाए । आफ्नो दलका नेता कार्यकर्ताले जागिर खाएका बेला देशको कायाकल्प भएको आत्मरतिमा ती दलका नन्दी, भृंगी, चण्डमुण्ड उफ्रिए पनि यो देशको राजनीतिले जनताको भावना कहिल्यै स्पर्श गरेन । कुर्सीमा पुग्नेहरु बेतुकका कालिदास प्रमाणित भए । भारत र चीनमा पानी पर्दा यहाँ छाता ओढ्नेहरु देशका मार्गदर्शक भए । लोकतन्त्रको व्याख्या सामाजिक सन्तुलनमा नभएर नेताहरुको ओठे जवाफमा अनुवाद हुँदै आयो ।
दूरदर्शी नेता भनिएका बीपी कोइराला समेत इन्दिरा गान्धीको निरंकुश चेपुवामा परेपछि राष्ट्रियताको सवालमा राजासंग घाँटी जोडिएको भन्दै स्वदेश फर्किए । जबकी २०१७ सालमा ‘कू’ हुनुअघि नै राजासंग मिल्दा कांग्रेसको भलो हुन्छ भन्ने मत राख्दै आएका सुवर्णशम्शेरको आवाजलाई कहिल्यै महत्व दिइएन । फलस्वरुप आफू अनुकूलको व्याख्या अपव्याख्याका कारण नेपालको राजनीति छाते च्याउभन्दा माथि उठ्न सकेन । नेपाललाई देशभन्दा स्वार्थको बजार बनाउन नेताहरुको सतप्रतिशत योगदान रह्यो । राजनीति गर्नेहरु जनताले नबुझ्ने राजनीतिक एजेण्डा लिएर मौसमजस्तै आउने र जाने गरे ।
अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई एक हितैषीले पत्रिका छापिएको देखाउँदै भने– हेर्नु अन्य मानिस तपाईंको कति आलोचना गर्छन । तपाईं किन प्रतिवाद गर्नुहुन्न ’ लिंकनले सटीक जवाफ दिए– ‘वादप्रतिवादको चक्करमा परिहने हो भने देशको सेवा कहिले गर्नु यदि मेरो कर्मले जनताको भलो भयो भने आलोचकको मुख आफैं बन्द हुन्छ, तर यदि म जनताको सुविधाप्रति बेखबर भएँ भने मलाई यस्तो आलोचनाबाट कसैले बचाउन सक्दैन ।’
हो, फल नलागेको रुखमा कसले झट्टी हान्छ र रु तर आफूलाई आलोचनाभन्दा माथि राख्न खोज्नु भनेको ओरालो यात्राको प्रारम्भ हो भनेर बुझे हुन्छ । हिजोसम्म आफू चढेको हाँगा आफैं ठुन्क्याउन अघि सर्ने कालिदासहरु मन्त्री, प्रधानमन्त्री भएलगत्तै चाणक्य भएको भ्रममा उचालिन थाले । जमिन विनाको फूर्ति आखिर कुर्सी खोसिएको भोलिपल्ट मुसिको भवःमा परिणत भए । नरेन्द्र मोदी, सी जिनपिङको अर्ती उपदेशमा जडभरत भएका नेताहरुलाई आफ्नो सक्कली अनुहारमा आउन समेत कठिनाइ भएको छ ।
कसले पत्याउँछ यिनीहरु क्रान्तिवीर हुन भनेर । सर्वशक्तिमान भएर राजनीतिमा उदाएका प्रचण्ड एउटा फौजीको सिपाही निकाल्न नसक्दा आफैं पाखा लागे । पशुपतिको पुजारी फेर्दा भोग्नुपरेको प्रत्याक्रमणको चोटले क्रान्तिवीरहरुको मुखुण्डो उत्रिसकेको छ । एउटा सिपाही, हवल्दार फेर्न नसक्नेहरुले राजा फाल्यौं भनेर दिएको गफ र छेपाराको कथामा समान तौल छ ।
नेताहरुको यही तोरीलाहुरे प्रवृत्तिले देशको शरीर त चलेको छ तर शिरामा रगत छैन् । परनिर्भरताको नदीमा अर्थतन्त्र पौडी खेलिरहेको छ । आफ्नो मध्येको एउटालाई पोस्न देशको कानुन फेरिन्छ । शत्रुलाई सिध्याउन कानुन भुत्ते बनाइन्छ । बालुवाटारका प्रधानमन्त्री सर्वशक्तिवान बन्दा सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालय जोक्कर बन्छ । अरु मन्त्रीले नरुचाएका, फाजिल, उब्रेका प्रशासक प्रधानमन्त्री कार्यालयमा डम्पिङ गरिन्छ । प्रधानमन्त्रीको बार्गेनिङ पावर बढाउन अप्राकृतिक निकाय प्रधानमन्त्री कार्यालय मातहत ल्याइन्छ । किन ल्याइयो रु सोध्नेहरुको पखेटा काटिन्छ । सरकारले भोटबाट प्राप्त प्राविधिक हैसियत त प्राप्त गर्यो । तर सामाजिक स्वीकृति टाढिँदै गयो ।
मुखियाहरुले आर्थिक समृद्धिको प्यारोडी गाइरहँदा राजश्व प्रक्षेपणको लक्ष्यबाट सरकारलाई ८० अर्बको धक्का लागेको समाचार आइरहेको छ । दुई दशकअघि नै ८ प्रतिशत आर्थिक विकासको अंक टेकेको देश दुई दशकपछि धिपधिपमा छ । कार्यक्रम हैन खल्तीपिच्छे ‘सपिङ लिस्ट’ बोक्ने नेता भएपछि यो भन्दा परको परिणाम कल्पनासम्म गर्न सकिन्न । देश यस्तो असामान्य परिस्थितिमा गुज्रिंदा पनि हाम्रा गतिविधिहरु सामान्य छन् । दैनिक जनताको गोजीबाट खोसिएको करोडौं रुपियाँ भ्रष्टाचारीको पोल्टामा पुग्दा कसैलाई कर्तव्यको आगोले पोल्दैन । बरु राज्य संयन्त्र संगठित अपराधको चंगुलमा फसेको छ । भाषणमा क्रान्तिका स्वर अलापे पनि नेचर, कल्चर र सिग्नेचर फेर्ने हिम्मत कमैमा हुन्छ । नेपाल नै कायापलट गर्ने संकल्प बोकेका नेताहरु अन्ततः पञ्चायतको बोतलमा गणतन्त्रको रक्सी भर्नमा आनन्द लिइरहेका छन् ।
अरुप्रति कठोर वाण प्रहार गर्न खप्पीस हामी आफ्नै समाजमा रहेका भाइबन्धुका कठोर मौनताप्रति आँखा चिम्लन्छौं । जसरी फलामलाई आफूभित्रकै खियाले सिध्याउँछ, त्यसरी नेपाली समाज आफैंभित्रको भाइरसबाट थङ्थिलो बन्दैछ । संसार बदल्ने त कति जन्मिए कति तर आफूलाई बदल्ने साहस कसैले गर्न सकेनन् । गफको विकल्प काम कहिल्यै भएन । हुँदाहुँदा चिया पसल, भट्टीदेखि खाडीका भेडी गोठमा काम गर्ने नेपालीहरु समेत आफ्नो खाएर अरुमाथिको आक्रमणमा रमाइरहेका छन् । व्यक्तिपिच्छेका फेसबुक बुलेटिन आफ्ना अयोग्यता झल्काउने माध्यम बनेका छन् ।
भनिन्छ, अल्छीहरु आधा जिन्दगी के गर्ने भन्ने सोचाइमा बर्बाद गर्छन । र बाँकी जीवन गर्न नसकिएका कामको कारण खोज्दै विताउँछन रे ! त्यसैले असल कामको आरम्भ भएन भने अन्ततः पुगिने खराब कामको गन्तव्यमा नै हो । मानिस केही पाउनकै लागि स्तुति गर्छन । तर निन्दा भने निन्दाकै लागि गर्छन । मान्छे अर्काको राम्रो होइन नराम्रो भन्न र सुन्नमा रस लिन्छ । निन्दा रसिलो हुन्छ भने प्रशंसा निरस । अर्काको सम्पन्नताको निन्दा गर्दा मान्छेले आफ्नो विपन्नताको औचित्य सिद्ध गरिरहेको हुन्छ ।
राष्ट्रिय स्वाधीनताका नाममा चार हात उफ्रिने तर अलिकति गुलियो चाट्न पाउने वित्तिक्कै लत्रिने देशप्रेमको उखरमाउलोले धेरैलाई उकुसमुकुस पारेको छ । यही उकुसमुकुसमा सरकारका मन्त्रीहरु बेलगाम जे मुखमा आयो त्यही बोल्दै हिँडिरहेका छन् । सरकारी संयन्त्रले १०–५ को एकलव्य रुटिनबाट तलमाथि जानुपर्ने दरकार सम्झिएको छैन् । सरकारभित्र थुप्रै सरकार छन् । सरकार बाहिर सरकारलाई होच्याउन गर्जन गर्नेहरुको ठूलो समूह छ । आमा नचाहिने, मामा नभई नहुने अनौठो संघीयताको अभ्यास भइरहेको छ । यी सवै मिलाउने भरलाग्दो राजनीतिक इन्जिनियर सतहमा देखिएको छैन् ।
खरानीबाट आगोको झिल्को उधिनेर उन्नति गरेका चीन, जापान, कोरिया, भियतनाम, पोल्याण्डजस्ता मुलुक चहर्याएको घाउमा कसरी मल्हम लगाउन सफल भए भन्ने आत्मज्ञानप्रतिको आकर्षण अहिलेको यक्ष विषय हो । मान्छेलाई आदिबासी, जनजाति, मधेशी, दलित, क्षेत्री बाहुनमा विभाजित गर्ने पण्डितहरु अभावबाट मुर्छितहरुको अवस्थासंग बेखबर छन् । प्रारब्धको यो झड्काले राजनीतिक दाउपेचभित्रको अपराधलाई चिराधरा पारेको छ । नेपाल र नेपालीको भाग्य विधाता आफूलाई ठान्ने भ्रम पालेको राजनीतिक नेतृत्व यी सवै दृश्यबाट सिताङ्ग बनेको छ । मुलुकमा साम्यवाद ल्याउन क्रान्तिका नाममा हजारौं मानिस मार्दा पनि एउटा रौं नझरेको बरु आफैं खुइलिँदै गएका नेताहरु बढ्दो गरिबीले विशुद्ध साम्यवाद ल्याइदिएको देखेर तीन चित परेका छन् ।
विदुर नीति भन्छ–
यद्धात्रा निजभालपट्टलिखितं स्तोकं महद्वा धनं
तत्प्राप्नोति मरुस्थलेकपि नितरां मेरौ ततो नाधिकम्
तद्धीरो भव वित्तवत्सु कृपणां वृत्तिं वृथा मा कृथाः
कूपे पश्य पयोनिधावपि घटो गुल्हाति तुल्यं जलम् ।
अर्थात भाग्यले निधारमा धेर थोर जे जति धन पाउँछ भनी कोरिदिएको छ, त्यति धन मरुभूमिमा गएपनि मनुष्यले अवश्य पाउँछ । त्योभन्दा बढी सुमेरु पर्वतमा गएपनि पाउँदैन । तसर्थ धैर्य गर, धनीहरु कहाँ गएर दयाको भीख नमाग । हेर, इनार र समुद्र जहाँ थापेपनि गाग्रीमा भरिने पानी उत्ति नै हो ।