काठमाडौं । अमेरिका र इरान दुबै तनावबाट पछि हट्दा संभाव्य मध्यपूर्वको युद्ध तत्कालका लागि टरेको छ ।
अमेरिका र इरानबीचको तिखा टिप्पणी र आक्रमण–प्रत्याक्रमणको एक चक्र पूरा भएजस्तो देखिएको छ । अमेरिकाले इरानी शक्तिशाली जनरल कासिम सुलेमानीको इराकी राजधानी बग्दादमा हत्या गरेसँगै मध्यपूर्वमा युद्धको त्रास छाएको थियो ।
इरानले अमेरिकाविरुद्ध कठोर बदला लिने धम्की दिएको थियो भने अमेरिकाले कुनैपनि आक्रमणको बदलामा इरानलाई ध्वस्त बनाइदिने चेतावनी दिइरहेको थियो ।
इरानले इराकस्थित एर्बिल र अल असदमा रहेका अमेरिकाका दुई शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेसँगै उसको सांकेतिक बदला पूरा भएजस्तो देखिएको छ भने अमेरिकाले पनि थप सैन्य तनाव नचाहेको देखिएको छ। अमेरिका र इरान दुबैको संयमताले तत्कालका लागि मध्यपूर्वमा एउटा घातक युद्ध टरेको छ ।
क्षेप्यास्त्र प्रहार गरेपछि इरान तल परेको जस्तो देखिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बदलामा नयाँ नाकाबन्दी गरेपनि सैन्य आक्रमण नै नगर्ने जनाएका छन् ।
इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खोमेनीले क्षेप्यास्त्र आक्रमणलाई अमेरिकाको मुखमा हानिएको थप्पडको संज्ञा दिएका छन् भने अन्य आक्रमणको धम्की दिएका छैनन् । अमेरिका र इरान दुबैले थप सैन्य तनाव नगर्ने संकेत देखाएपछि तत्कालका लागि मध्यपूर्वमा भड्किनसक्ने द्वन्द्वको त्रास टरेको छ ।
मध्यपूर्वमा नयाँ तनावको शुरुवातसँगै सबैको ध्यान अमेरिकी राष्ट्रपति ट्रम्पतर्फ मोडिएको थियो । किनकी पछिल्ला दिन अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमण भए इरानलाई ध्वस्त पारिदिने धम्की दिइरहेका थिए ।
आफ्नो वरिष्ठ सैनिक अधिकारीको हत्याको बदलामा इरानले अमेरिकी निशानामाथी हमला गर्ने पहिले नै निश्चित नै थियो । अमेरिका इरान कुन हदसम्म जान्छ भन्नेमा मात्र ढुक्क थिएन ।
इराकस्थित अमेरिकी सैन्य अखडाहरुमा अमेरिकी अधिकारीहरुले अनुमान गरेजसरी नै इरानी क्रान्तिकारी सेनाले क्षेप्यास्त्र हमला गर्यो ।घटनाको एक घण्टाभित्रै ट्रम्प प्रशासनले अमेरिकी संसदहरुलाई जानकारी गरायो ।
ट्रम्प आफैले रिपब्लिकन पार्टीका शीर्ष नेताहरु तथा सांसदहरुलाई इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य अखडाहरुमा आक्रमण गरेको औपचारिक जानकारी गराएका थिए भने उपराष्ट्रपति पेन्सले विपक्षी डेमोक्रयाट् पार्टीकी नेतृ तथा सभामुख नेन्सी पेलोसीलाई जानकारी गराएका थिए ।
पेलोसीले अन्य डेमोक्र्याट सांसद तथा नेताहरुलाई हमलाबारे जानकारी गराएकी थिइन् । सबैमा ट्रम्पले इरानी आक्रमणको घटनालाई कसरी सम्हाल्छन् भन्ने अन्यौल कायमै थियो ।
हमला लगतै अमेरिकी रक्षामन्त्री मार्क एस्पर रक्षा मन्त्रालय (पेन्टागन) गई वरिष्ठ सैन्य अधिकारीहरुबाट जानकारी लिए । सुलेमानीको हत्यासँगै पेन्टागन २४ सै घण्टा अर्लट थियो ।
इरानी हमलाको एक घण्टा नबित्दै रक्षामन्त्री एस्पायरको कार्यालयबाट इराकी प्रधानमन्त्री आदिल अब्दुल अल महदीलाई प्रत्यक्ष सम्पर्क गर्न खोज्दा फोन उठेन । सम्पर्कको बेला इराकी राजधानी बग्दादमा बिहानको ३ बजेको थियो त्यसैले पहिलो प्रयासमा इराकी प्रधानमन्त्री सम्पर्कमा आउन सकेनन् ।
आफनो देशको सार्वभौमिकता उल्लंघन गर्दै आफ्ना पाहुनालाई मारेको भन्दै अमेरिकी सेनालाई तत्काल देश छाड्न आदेश दिएका इराकी प्रधानमन्त्री महदीलाई सम्पर्क हुन नसकेपछि अर्को तबरबाट सम्पर्क गर्ने प्रयत्न थालियो । वासिंटनस्थित इराकी राजदूतलाई सम्पर्क गरेपछि उनैले अमेरिकी रक्षा मन्त्रालय र इराकी प्रधानमन्त्रीबीच सम्पर्क गराइदिए।
इराकी प्रधानमन्त्रीसँगको कुराकानीपछि अमेरिकी रक्षामन्त्री एस्पायर र अमेरिकी सेनाका संयुक्त प्रमुख मार्क मिलीले केही संसदहरुलाई टेलिफोनमार्फत इरानी हमलाबारेको ताजा जानकारी गराए । इरानी हमलाको उद्देश्यबारेको गुप्तचरी विश्लेषणपछि उनीहरु राष्ट्रपति भवन ह्वाइट हाउसतर्फ लागे ।
साँझ ७:३० बज्नै लाग्दा उनीहरु ह्वाइट हाउस प्रवेश गरे जहाँ अमेरिकी विदेशमन्त्री माइक पम्पेओ केहीबेर अघि मात्र पुगिसकेका थिए । तर उनीहरु तीनैजना सँगै वेस्ट बिंङ प्रवेश गरे। केहीबेरमै अमेरिकी वरिष्ठ अधिकारीहरु सिचुएसन रुममा भेला भए ।
उपराष्ट्रपति माइक पेन्स, परराष्ट्रमन्त्री पम्पेओ, रक्षामन्त्री एस्पायर, सेनाप्रमुख मिलीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायन, अमेरिकी राष्ट्रिय गुप्तचर एजेन्सीका कार्यवाहक निर्देशक जोसेफ मागुइरे, ह्वाइट हाउसका सल्लाहकार प्याट सिप्पोलोन, प्रेस सल्लाहकार स्टेफनी ग्रिसम लगायत वरिष्ठ अमेरिकी अधिकारीहरु सिचुयसन रुममा छलफल गर्न थाले ।
सीआईएका निर्देशक जीना हेस्पल भने आफ्नै मुख्यालमा इरानी गतिबिधिबारे निगरानी गर्ने र सूचना विश्लेषण गरिरहेकी थिइन् । उनी टेलिकन्फ्रेन्स मार्फत त्यहाँ जोडिएकी थिइन् ।
हेस्पल प्राय सीआईए मुख्यालय लान्गली, भर्जिनियामै बसि अमेरिकी कारवाहीहरुको अनुगमन गर्छिन् । यसअघि अमेरिकाले इस्लामिक स्टेटका प्रमखु अबु बकर अल बग्दादी विरुद्धको कारवाहीमा पनि उनी सिचुयसन रुममा नबसी आफ्नै मुख्यालयबाट टेलिकन्फ्रेन्स मार्फत जोडिएकी थिइन् ।
सीआईए अमेरिकाको सूचना संकलन र प्राय सबै कारवाहीहरुको अग्रपंक्तिमा रहेपनि सार्वजनिक रुपमा आफ्नो भूमीकाबारे चर्चा गर्दैन्।
सिचुयसन रुममा रहेका सबैको पहिलो प्राथमिकता थियो– हमलाबाट कुनै अमेरिकी मारिए या घाइते भएकी भएनन् । यदी त्यो भए इरानमाथी कस्तो सैन्य कारवाही गर्ने । अमेरिकीतर्फ कुनै हताहति नभएको प्रारम्भिक सूचनासँगै सिचुएसन रुममा संयमताको भावना जागिसकेको थियो । तर पनि ढुक्क भने थिएन् ।
इरानले इराक या लेबनानमा फेरि पनि आक्रमण गर्न सक्छ भन्ने आशंका थियो । पहिलो हमलामा इरानी मनासायबारे छलफल भएसँगै हजारौं क्षेप्यास्त्र भएको इरानले हताहती बनाउने उदेश्यले नभइ आफ्ना जनतालाई बदला लिएको देखाउन मात्र त्यसरी प्रहार गरेको हो भन्ने निष्कर्ष निस्कियो ।
इरान तनाव घटाउन र अमेरिकासँग युद्ध गर्ने या अमेरिकीलाई क्षति पुर्याउने शैलीमा आक्रमण नभएको बरु शान्तिको लागि काम गर्न चाहेको केही सन्देशहरु वरिष्ठ अमेरिकी अधिकारीहरुले पाइरहेका थिए ।
लगतै ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने रुपरेखा तयार हुन थाल्यो । तत्कालै ट्रम्पका सहयोगीहरु ओभल अफिसबाट इरानी हमलाबारे ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारीमा जुटे । ट्रम्पका सल्लाहकार स्टिफन मिलर भाषणको ड्राफ्ट बनाउन लागे ।
अन्य वरिष्ठ सल्लाहकारहरुले ड्राफ्टलाई थप घट गर्नतर्फ सुझाव दिन थाले। सुलेमानीको हत्यासँगै ह्वाइट हाउसका शीर्ष अधिकारीहरु ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गनुपर्ने पक्षमा थिए ।
ट्रम्पका ज्वाई जेरर्स कुशनर लगायत ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्नुपर्ने पक्षमा रहेपनि रोकिएको थियो । किनकी बहुसंख्य वरिष्ठ रिपब्लिकन नेता तथा संसदहरु संयमता अपनाउन ट्रम्पलाई सुझाव दिइरहेका थिए।
राति ९ बजेतिर ट्रम्पले एकदमै सकारात्मक मुडमा वरिष्ठ रिपब्लिकन नेताहरु तथा संसदहरुलाई टेलिफोन गर्दा उनीहरु उत्साहित भए । ट्रम्पले टेलिफोन गर्दा केही रिपब्लिकन संसदहरुले यो वार्ताका लागि नयाँ अवसर पनि हुन सक्छ भन्दै थिए । ट्रम्पले पनि त्यही चाहेको भन्दा संसदहरु आश्चर्यचकित परे। सांसदहरुले ट्रम्पले यो घटनालाई राम्रैसँग सम्हाल्छन् भन्ने आशा गर्न थाले।
ट्रम्पले साँझ ९:४५ मा ट्वीट गरे, ‘सब ठिकठाक छ । इरानबाट इराकमा रहेका २ अमेरिकी सैन्य अड्डाहरुमा क्षेप्यास्त्र प्रहार गरिएको छ । हताहती र क्षतिको आँकल जारी छ । अहिलेसम्म सबै ठिक-ठाक छ । हामीसँग संसारकै सबैभन्दा शक्तिशाली र हतियारले सुसज्जित सेना छन्। म भोलि बिहान राष्ट्रका नाममा सम्बोधन गर्छु।’
ट्रम्पको ट्वीटपछि अमेरिकाले इरानमाथि जवाफी कारवाही गर्दैनन् भन्ने धेरैले अनुमान गरिसके पनि ट्रम्पका बारे भने ढुक्क थिएनन् । युद्ध टार्न रातैभरि प्रयत्नहरु भने जारी नै रहे ।
इरानले स्विजरल्याण्ड, कतार र ओमानमार्फत अमेरिकालाई पूर्ण युद्ध नचाहेको र आफूहरुले अब अमेरिकाले पुन आफ्नो भूमिमा आक्रमण नगरोस् भन्ने पक्षमा रहेको सूचना अमेरिकालाई प्रवाह गरिदिन आग्रह गरेको थियो । फरक फरक संयन्त्रमार्फत अमेरिकाले इरानी मनशाय बुझिरहेको थियो ।
गोप्य च्यानलहरु मार्फत अमेरिका र इरानबीच सूचनाहरुको आदनप्रदान भने भइरहेको थियो । अमेरिकाले इरानले शिया लडाकुहरु मार्फत अमेरिकीहरुमाथि हमला नगरोस् भनि सूचना पठाएको थियो ।
विहानको १ बजे अमेरिकी रक्षा र गुप्तचर अधिकारीहरुले सम्पूर्ण निष्कर्ष निकालिसकेका थिए । अमेरिकातर्फ कुनै हताहति नभएको प्रारम्भिक सूचनाको पुन पुष्टि गरिएको थियो । त्यो बेलासम्म अमेरिकी रक्षा र गुप्तचर एजेन्सीहरुले हमलाको स्तर, प्रकार, उदेश्य र इरानी शक्तिको लेखाजोखा गरिसकेका थिए ।
इरानले हमला पूर्वनै इराकी सेनालाई ब्यारेकको नामै तोकेर त्यहाँ हामी हमला गर्दैछौं सेनाहरु अन्यत्र सार्नु भनि औपचारिक जानकारी गराएको थियो । इराकले त्यही सूचना अमेरिकी सैनालाई पनि दिएको थियो । इरानबाट क्षेप्यास्त्र प्रहार गर्नसाथै मध्यपूर्वमा रहेका सम्पूर्ण अमेरिकी सैन्य अलर्ट थिए ।
इराकमा अमेरिकाले क्षेप्यास्त्र प्रतिरोधी कुनै उपकरण तैनाथ गरेको थिएन किनकी उनीहरु इरानले हताहती गर्ने मुर्खता गर्दैन भन्नेमा विश्वस्त थिए । इरानले घातक हमला गर्नसक्ने क्षमताको प्रयोग नगरेको निष्कर्षमा अमेरिकीहरु पुगिसकेका थिए ।
विश्लेषणको निष्कर्ष इरानले पछिल्लो समय साउदीको तेलखानीमा गरेको आक्रमणदेखि उसका लडाकुहरुले प्रयोग गर्ने हमलाको स्तर र प्रकारहरुको मापन गरी निकालिएको थियो । अमेरिकी गुप्तचर एजेन्सीहरुले इरानका शीर्ष सैन्य र राजनीतिक नेतृत्वबीचको टेलिफोन वार्ता र अन्य निर्णय प्रक्रिया, इरानको धम्की आदी लगायत हात पारिसकेका थिए ।
अमेरिकी जासुस स्याटलाइटहरुले इरानले ब्यालेष्टिक क्षेप्यास्त्रहरु कहाँ कहाँ तैनाथ गरिरहेको छ भन्नेबारे सुलेमानी मारिएकै दिनदेखि पछ्याइरहेको थियो ।
इरानले व्यालेस्टिक क्षेप्यास्त्र तयार गर्नुको लक्ष्य अमेरिकाले थाहा पाइ सावधान होस् भन्ने नै रहेको थियो । अनि हमलाको स्तर र समयले पनि इरान अमेरिकी हताहती नहुन भन्नेमा सचेत रहेको देखिएको थियो ।
इरानभित्रै रहेका अमेरिकी गुप्तचरहरुको रिपोर्ट, घटनाको प्रकृती, समयले अमेरिकी गुप्तचर र रक्षा अधिकारीहरुले सहजै निष्कर्ष निकाले । इरान अहिले अमेरिकासँग सैन्य भीडन्त गर्ने भन्दा टार्ने नै पक्षमा छ भने, अमेरिकाले फेरि सैन्य हमला गर्नुले युद्ध भड्किने निश्चित छ।
यता सिचुएसन रुममा रहेका वरिष्ठ अमेरिकी अधिकारीहरु रातैभरि नसुति विभिन्न विकल्पहरुबारे छलफल गरिरहेका थिए । विहान सबेरै वरिष्ठ अधिकारीहरुको समूहले ट्रम्पलाई आफ्ना मूल्याकनहरुबारे जानकारी गरायो । उनीहरुले स्थितीलाई थप तनावपूर्ण बनाउन जरुरी नरहेको आफ्नो निष्कर्ष सुनाए । इरानीहरु पछि हटि सके हामी पनि केही पछि हट्नुपर्छ भन्ने उनीहरुको निष्कर्षमा ट्रम्पले समर्थन जनाए ।
ट्रम्पले राष्ट्रका लागि सम्बोधन गर्ने कार्यक्रम बिहान ११ बजेलाई राखियो । भाषणको ड्राफ्ट तयार थियो तर ट्रम्प आफै सच्चाउनेतर्फ लागे।
परराष्ट्रमन्त्री, विदेशमन्त्री, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत संलग्न भई तयार पारेको ड्राफ्टलाई ट्रम्प आफैले सम्पादन गर्न थालेपछि राष्ट्रलाई सम्बोधन गर्ने कार्यक्रम निर्धारित समयभन्दा आधा घण्टा ढिला हुन पुग्यो ।
ट्रम्प आगमन अघि अमेरिकी उपरराष्ट्रपति पेन्ससहित सिचुयसन रुममा रातभर घटनाको मूल्यांकन गरेका वरिष्ठ अमेरिकी अधिकारीहरु पोडीयमको दायाँबायाँ लाइन लागेर उभिए ।
ट्रम्प आफ्नै शैलीमा आएर सम्बोधनको शुरुवात गर्दै भने ‘म राष्ट्रपति रहेसम्म इरानलाई कुनैपनि हालतमा आणबिक हतियार बिकास गर्न दिने छैन ।’ १० मिनेटको भाषणमा ट्रम्प पहिलेभन्दा ‘यू टर्न’ भइसकेका थिए।
ट्रम्पको भाषणसँगै मध्यपूर्वमा मडारिएको युद्धको कालोबादल तत्कालका लागि टर्यो तर सदाका लागि टरिसकेको भने छैन । पुनः एकले अर्कोलाई गलत आँकलन गरी आक्रमण गरेमा यस्तै अर्को संकटको चक्र शुरुवात हुने चाँही निश्चित नै छ।
मध्यपूर्वी देश इराक र लेबनानमा रहेका इरान समर्थक लडाकुहरुले पुन: अमेरिकामाथि हमला गरेमा या अमेरिकाले इरानमाथि अर्को आक्रमण गरेमा भड्किनसक्ने युद्धको जोखिम भने हटिसकेको छैन ।
दुबै पक्ष तत्कालका लागि संयमित भएपनि रणनीतिक लेखाजोखा भने कायमै राखेका छन् । यो संयमताले मात्रै दुई देशले एक अर्कोलाई नोक्सान पार्ने आगामी कदमलाई नरोके पनि तत्कालको लागि प्रत्यक्ष युद्ध भने टारेको छ ।