व्यापारीको अपहरणपछि हत्या गर्ने बाबुलाई २० र छोरीलाई १० वर्ष कैद सजाय

दाङ, २३ पुस । दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठ र घोराहीका युवा रणबहादुर घर्तीको अपहरण तथा हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये बाबु छोरीसहित आठ जना कारागार चलान भएका छन्। जिल्ला अदालत सल्यानले अपहरण तथा हत्या काण्डमा संलग्नलाई ९ वर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो। पक्राउ परेकामध्ये तीन जनालाई अदालतले सफाइ दिएको छ। घटना भएको साढे दुई वर्षपछि जिल्ला न्यायाधीश कुलप्रसाद केसीको इजलासले घटनाका मुख्य योजनाकार तुलसीपुर

उपमहानगरपालिका ६ स्याउलीबजारका ३९ वर्षीय टीकाराम घर्तीलाई २० वर्ष कैदको फैसला सुनाएको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा दश–दश वर्ष गरी २० वर्ष जेल सजाय र ५० हजार जरिवानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार दीपक पोखरेलले जानकारी दिए।

व्यापारी श्रेष्ठलाई अपहरण गर्न ‘हनी ट्रयाप’को रूपमा प्रयोग गरिएकी घर्तीकी छोरी १८ वर्षीया किशोरी पूजा घर्तीलाई अपहरण मुद्दामा दश वर्ष कैद सजाय तोकेको छ। पूजालाई ५० हजार जरिवानाको फैसला समेत सुनाइएको जिल्ला अदालतका स्रेस्तेदार पोखरेलले बताए। छोरी पूजालाई प्रयोग गरी घर्तीले व्यापारीलाई जंगलमा लगेर बन्धक बनाएको र मारेको अभियोग प्रहरीले लगाएको थियो।

तत्कालीन दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहसहितको प्रहरीको अनुसन्धान टोलीले व्यापारी श्रेष्ठ अपहरण र हत्या काण्ड घटनामा मुख्य योजनाकारसहित १४ जना संलग्न भएको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो। तीमध्ये ११ जनामात्रै हालसम्म पक्राउ परेका छन् । बाँकी तीन जना फरार सूचीमा छन्।

व्यवसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते तुलसीपुरबाट अपहरण गरी सल्यान पुर्‍याइएको थियो। अपहरणको तीन दिनपछि जेठ २९ गते नै श्रेष्ठको हत्या भए पनि शव भने २२ दिनपछि मात्रै फेला परेको थियो। शव सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं। ४ झिम्पेको ओढारमा फेला परेको हुँदा मुद्दा पनि जिल्ला अदालत सल्यानले हेरेको थियो। तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै दाङ घोराहीका अर्का युवा रणबहादुर घर्तीको पनि हत्या भएको थियो। तत्कालीन समयमा पोल खुल्ने त्रासले उनको हत्या गरिएको एसपी धिरजप्रताप सिंहले बताएका थिए।

‘श्रेष्ठलाई अपहरण गर्ने अपहरणकारीले घर्तीलाई अपहरण र हत्या गर्ने कुनै पूर्वयोजना नै नबनाएको खुल्न आएको छ,’ तत्कालीन एसपी सिंहले भनेका थिए ‘यात्राका क्रममा संयोगवस अचानक घटनास्थलमा घर्ती पुगेपछि गोपनियता खुल्ने त्रासले उनलाई पनि श्रेष्ठका अपहरणकारीले सँगसँगै लगेको देखिन आएको छ।’ केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी का तत्कालीन एसपी दिवेश लोहनीले पनि सोही कुरा बताएका थिए।

Loading...