इरानमा विमान दुर्घटना हुँदा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन

इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन भएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो। विमानमा सवार सबैको निधन भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ।

प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ । फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ ।

इरानको रेड क्रेसेन्टले विमानमा रहेकाहरु जीवित रहने सम्भावना नरहेको बताएको छ । फार्स स्टेट न्युज एजेन्सीका अनुसार विमान युक्रेनको राजधानी किएभका लागि उडेको थियो ।

इरान–अमेरिकाबिच हाल कायम तनाव र विमान दुर्घटनाबिच सम्बन्ध नरहे–नरहेको स्पष्ट भएको छैन । उद्धार टोली घटनास्थल पुगेका छन् । इरानको रेड क्रेसेन्टका प्रमुखले कसैलाई पनि जीवितै उद्धार गर्न सक्ने सम्भावना अब असम्भव रहेको बताएका छन् ।

    

Loading...