काठमाण्डौ, १८ पुस । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ शुक्रबार एकै दिन तोलामा एक हजार रुपैयाँ बढेर अहिले सम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ अझै बढ्ने महासङ्घले जनाएको छ ।
यस अघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैया सम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि बिस्तारै बढेर मंगलबार तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता बुधबार र बिहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार भने तोलामा एक हजार रुपैयाँ बढेको हो । चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।