कर्णाली, ११ पुस । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा अवस्थित शे–फोक्सुण्डो सडक सञ्जालसँग जोडिएको छैन। यहाँ पुग्ने पर्यटकका लागि सहज खान बस्ने होटेलसमेत पाउन मुस्किल छ। शे–फोक्सुण्डो नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिए पनि पर्यटकको गन्तव्य बन्न सकेको छैन । पर्यटकविहीन यो तालसम्म सडक नजोडिनु नै पर्यटक नआउनुको प्रमुख कारण हो।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आसपासकै काँक्रिविहारमा पनि उल्लेख्य पर्यटक आउन सकेका छैनन्। जुम्लाका दुई हिमाल पातारासी अर्को काञ्जिरोवा हिमाल आरोहण गर्न पर्यटक लालयित छन्। तर हिमालको वेश क्याम्पसम्म जानेबाटो नहुँदा कयौं पर्यटक यहाँसम्म पुग्न सक्दैनन्। यो सँगै बीचमा पर्यटक बस्ने ठाउँ पनि छैन। ‘कहिँकतै आइपुगेका पर्यटक ओढारमा बस्छन्,’ जुम्ला पातारासी गाउँपालिका अध्यक्ष लछिमान बोहराले भने, ‘पूर्वाधारबिनाका पर्यटकीय गन्तव्यले कुनै अर्थ दिँदैन।’
यति मात्र होइन कर्णालीका पर्यटकीय क्षेत्रमा अपेक्षाकृत पर्यटक आउन सकेको छैनन्। कारण, ‘पूर्वाधार अभाव।’ कर्णालीका पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव हुँदा ती क्षेत्र ओझेलमा परेका छन्।एक सय नयाँ पर्यटकीय गन्तव्यमा कर्णालीका २१ वटा पर्यटकीय क्षेत्र समावेश छन्। यी २१ पर्यटकीय क्षेत्रमा समेत पूर्वाधार विकास हुन सकेको छैन, जसले यहाँसम्म सहजै पर्यटक पुग्न सक्दैनन्। नेपाल भ्रमण वर्ष २०२० सुरु हुनै लाग्दा यी क्षेत्रमा पूर्वाधार निर्माण गर्न जरुरी छ। यहाँसम्म पुग्ने बाटोघाटो निर्माणदेखि मनोरञ्जनका लागि आवश्यक पूर्वाधार विकास भए यतिबेला आएका पर्यटक पुनः दोहोरिएर आउन सक्ने यहाँका पर्यटन व्यवसायीको भनाइ छ।
यहाँका पर्यटकीय क्षेत्रमा आउजाउ गर्न समस्या छ। अहिले केही पर्यटकीय क्षेत्रहरू जीर्ण अवस्थामा छन्। उनीहरूको पुनर्निर्माणमा ध्यान दिन आवश्यक छ। कर्णालीको मुगुमा अवस्थित रारा तालसम्म पुग्न पनि कठिन छ। कर्णालीका प्रमुख पर्यटकीय क्षेत्रका होमस्टेहरू व्यवस्थित बनाउनुपर्ने रुकुम पश्चिमका पर्यटन व्यवसायी गोपाल केसीले बताए। पर्यटकीय सम्भावना हुँदाहुँदै पनि कर्णाली पूर्वाधार नहुँदा पछाडि परेको छ।
कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि ४० वटा पर्यटकीय गन्तव्य छनोट गर्दा जुम्लाका चन्दननाथ मन्दिर, गुठीचौर, पातारासी र सिंजा भ्याली सभ्यता अन्तर्राष्ट्रिय महत्वका पर्यटकीय क्षेत्रका रूपमा समेटिए। तर, प्रदेश सरकारले तोकेका यी गन्तव्यभित्र परेका सबै पर्यटकीय क्षेत्रसम्म पुग्न कुनै पूर्वाधार छैनन्। ‘हचुवाका भरमा पर्यटकीय गन्तव्य तोकिए,’ स्थानीय जीवनबहादुर रोकायाले भने, ‘पूर्वाधारका हिसाबमा सबै पर्यटकीय क्षेत्र निकै कमजोर छन्। पर्यटक सहजै पुग्न सक्ने अवस्था छैन।’
अहिले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गर्ने स्थानीय तह र प्रदेश सरकारसँग गुरुयोजनासमेत बनेका छैन। प्रदेश सरकारले पाँच वर्षे र १० वर्षे रणनीतिक योजना निर्माण गर्न लागेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जनाए। पूर्वाधार निर्माण नहुँदा कर्णालीका पर्यटकीय क्षेत्रमा उल्लेख्य पर्यटक आउन नसकेको उनको भनाइ छ। पर्यटकीय क्षेत्रका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्ष मात्रै सुर्खेतमा २२ लाख, दैलेखमा पाँच लाख, मुगुमा पाँच लाख, सल्यानमा पाँच लाख ८५ हजार, जाजरकोटमा पाँच लाख, रुकुम पश्चिममा १० लाख, जुम्लामा चार लाख ८७ हजार र डोल्पामा सात लाख रूपैयाँ विनियोजन गरेको थियो। तर, उक्त वजेटको नतिजा भने उपलब्धिमूलक भएन। जनशक्ति अभावमा गत वर्षको रकम खर्च हुन नसकेको मन्त्री बुढाले बताए।
तीन तह ९संघ, प्रदेश र स्थानीय० का सरकारले ग्रामीण क्षेत्रका पर्यटकीय क्षेत्रलाई संरक्षण गर्न नसकेको स्थानीय बताउँछन्। आफैं एक सुन्दर र आकर्षण पर्यटकीय क्षेत्र पनि संरक्षण अभावमा ओझेलमा परेको सुर्खेतकी तृषणा हमालले बताइन्।
‘पर्यटकीय गन्तव्य छनोटका आधारमा पर्यटकीय क्रियाकलाप हुनु पर्ने हो,’ पर्यटन व्यवसायी ललित महत भन्छन्, ‘यहाँ पर्यटन क्षेत्रको महत्वभन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा योजना छनोट हुनु दुर्भाग्य हो।’ उचित संरक्षण र प्रचार प्रसार अभावले कर्णालीमा पर्यटक भित्रिन नसकको उनको भनाइ छ। यहाँको पर्यटन क्षेत्र सबैको साझा एजेन्डा बन्नुपर्ने उनले बताए। पर्यटकीय क्षेत्रमा पर्यटनमैत्री व्यवहार, पर्यटनमैत्री आवास र पर्यटनमैत्री वातावरणको खाँचो छ। साथै परम्परागत सांस्कृतिक, आर्थिक, सामाजिक संस्कार पनि उत्तिकै जरुरी छ।