यसरी भएको थियो गौचनको दिउसै गोली हानी हत्या

गुलाबी रंगको टिसर्ट लगाएका व्यक्ति गाेली हानेर माेटरसाइकलमा भागेका थिए

काठमाडौं, २४ असाेज । सोमबार दिउँसो तीन नबज्दै बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । घरबाट करिब तीन सय मिटरमात्रै अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्‌यो ।

गाडीको अगाडीको सिसामा प्वाल पर्‍यो । चालकले गाडीको गति अलि कम गरे । त्यति नै बेला एक जना अन्दाजी ३०/३५ वर्षका युवाले रिभल्वरबाट गोली हानिहाले । गौचनको छाति र पेटमा तीन गोली लाग्यो र रगत बग्दा बग्दै उनी अचेत भए । एकैछिनमा गौचनलाई मिनभवनस्थित सिभिल अस्पताल पुर्‍याइयो । अस्पताल पुर्‍याउने वित्तिकै डाक्टरहरुले गौचनको मृत्यु भइसकेको घोषणा गरे ।

सिभिल अस्पतालका निमित्त निर्देशक बिमल थापाले अस्पताल ल्याउदैमा गौचनको मृत्यु भइसकेको बताए । थापाका अनुसार उनको मुटु, कलेजो र पेटमा एक/एक वटा गोली लागेको थियो । प्रत्यक्षदर्शीका अनुसार गोली प्रहार गरेलगत्तै हातमा पेस्तोल नचाउँदै ति युवा केही अघि बढे र रोकिराखेको मोटरसाईकलमा चढेर कात्ययानी चोकतर्फबाट भागेका थिए । घटनालगत्तै प्रहरीले गुलाबी रंगको टिसर्ट र सोही रंगको हेलमेट लगाएका मुख्य सुटरको खोजी तीव्र पारेको थियो ।

काठमाडौंबाट बाहिरिने सबै मुख्य नाकामा प्रहरीले बर्दीसहितका र सादा पोशाकका प्रहरी परिचालन गरेर खानतलासी र मोटरसाइकलको चेकजाँच तीव्र पारेको थियो । अनुसन्धानमा संग्लन प्रहरी अधिकारीका अनुसार अपराधीहरुले गौचन घरबाहिर निस्कने समय कुरेर लामो समयदेखि बाटो ढुकी बसेका थिए । घुमाउरो र सानो मोडमा गाडीको गति सुस्त हुने र त्यही बेला गोली प्रहार गर्न सकिने योजना मुताविक उनीहरुले घटना घटाएका थिए । सोमबार साँझसम्म पनि प्रहरीले मोटरसाइकलको नम्बर र कस्तो मोटरसाईकल प्रयोग भएको थियो भनेर पत्ता लगाउन सकेको छैन ।

प्रहरीले गोली कुनै आपराधिक समूहले चन्दाको निहुँमा हानेको हुनसक्ने प्रारम्भिक अनुमान मात्रै गरेको छ । महानगरिय प्रहरी कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दका अनुसार आपराधिक समूहका व्यक्तिले पैसाको बार्गेनिङ गरेको र नपाएपछि हत्या गरेको हुनसक्ने बताए । एआईजी चन्दले घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको बताउँदै घटनाको यकिन कारणबारे प्रस्ट भइनसकेको बताए ।

चन्दले गुण्डा नाईक रमेश बाहुन भनिने सुजन पौडलको समूहका केही सदस्यले चन्दाकै निहुँमा केही दिनअघि गौचनलाई थप्पड हानेको सूचना आएको बताए । उनले भने, ‘उक्त समूहकै संग्लनता थियो या थिएन अनुसन्धान हुँदैछ ।’ रमेश बाहुन अवैध रोडा ढुंगाको कारोवार, ठेक्का पट्टा र अवैध असुलीको धन्दामा लामो समयदेखि सक्रिय छन् ।

प्रहरीले हत्याका पछाडी गुण्डा समूह मनोज पुन हुनसक्ने अनुमान गर्दै अनुसन्धानलाई त्यतातिर पनि सोझाएको छ । एक उच्च प्रहरी अधिकारीले कान्तिपुरसँग कुरा गर्दै मनोज पुनले नै आफ्ना सदस्य परिचालन गराएको हुनसक्ने भन्दै उनका समूहका सदस्यहरुको खोजी प्रहरीले गरिरहेको बताए । मनोज पुन गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेपछि चर्चामा आएका थिए ।

स्रोतका अनुसार पुनको समूहका एक सदस्य मानिएका तिब्बती शरणार्थीका रुपमा भारतको धर्मशालामा बस्ने लोप्साङ लामाले एक प्रहरी अधिकारीलाई अपरिचित नम्बरबाट फोन गरी घटनाको जिम्मेवारी आफूले लिएको बताएका छन् । लोप्साङ तिनै व्यक्ती हुन जसले चैतको अन्तिम साता गौरीघाटको एक फिटनेस क्लबमा रहेका दावा लामा माथि गोली प्रहारको घटनालगत्तै तत्कालिन प्रहरी परिसर काठमाडौंका प्रमुख छविलाल जोशीलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए ।

गणेश लामा समूहबाट ठेक्कापट्टा र अवैध असुलीको धन्दामा संग्लन लामा पछिल्लो समय आफनै समूह बनाएर अवैध असुलीको धन्दामा सामेल छन् । एक प्रहरी अधिकारीका अनुसार अधिकांश समय भारत बस्ने लामाले त्यतिबेला जस्तै अहिले पनि फोन गरेर घटना आफूले घटाएको दावी गरेका छन्, तर त्यसैका आधारमा घटनाको निष्कर्ष निकाल्नु गलत हुनेछ । सोमबार साँझसम्म पनि प्रहरीले घटनाको यकिन कारण र त्यसमा संग्लनहरुको पहिचान गरिसकेको छैन् । प्रहरीका अनुसन्धान अधिकारीले घटनास्थल वरीपरी कतै सिसिटिभीको कभरेज थियो कि भनेर खोजी गरेको थियो । एक अनुसन्धान अधिकारीका अनुसार उक्त क्षेत्रमा कतै सिसिटिभी नभएका कारण अभियुक्तहरुको यकिन पहिचानमा समस्या भएको बताए ।

राजधानीमा मध्य दिनमै गौचनमाथि गोली प्रहारको घटनाले २०६९ जेठ १८ मा न्यायाधीश रणबहादुर बमको हत्याको घटनालाई सम्झाइदिएको छ । प्रहरी अधिकारीहरुका अनुसार राजधानीमा बम हत्याको घटनापछि उस्तै प्रकृतिको हत्या घटना भएको थिएन । सोमबारको घटनापछि प्रहरी अधिकारीहरुलाई गम्भीर बनाइदिएको छ । गौचनलाई जस्तै कारमा चढेर सर्वोच्च अदालत आउँदै गर्दा मोटरसाइकलमा सवार बन्दुकधारीले कार रोकेर बममाथि गोली चलाएका थिए ।

उक्त हत्याको मुख्य अभियुक्तको पहिचान गर्ने क्रममा प्रहरीले २ लाख भन्दा धेरै एसएमएस र हजारौं फोन कलको डिटेल चेकजाँच गरेको थियो । उक्त घटनामा प्रहरीले ७ दशमलव ६५ एमएमका थान गोलीका खोकाहरु भेटेको थियो भने घटनामा अभियुक्तहरुले ४ वटा पेस्तोल लगेको निष्कर्ष निकालेको थियो । अनुसन्धानपछि प्रहरीले चार मध्ये दुई पेस्तोलबाट मात्रै फायर भएको बताएको थियो । हत्याको दुई वर्ष सात महिनापछि प्रहरीले घटनाका मुख्य अभियुक्त सन्जय इस्माईली मगरलाई साउदी अरबबाट पक्रेर नेपाल ल्याएको थियो । कान्तिपुर दैनिकबाट

 

Loading...