अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको सम्मेलन सम्पन्न

धनगढी, २२ असोज । अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको यहाँ भएको सम्मेलन चारबुँदे सुदूरपश्चिम घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको सम्मेलनले जारी गरेको घोषणापत्रमा सुदूरपश्चिमको समग्र विकासका लागि प्रवासी युवाको सीप र पुँजीलाई संकलन गरी विभिन्न योजनामा परिचालन गर्नका लागि राज्य र अन्य सरोकारवालासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्तै, रोजगारीका लागि विदेश जाने युवाको चेतना अभिवृद्धि गर्न र सीपमूलक कार्यक्रममार्फत बेरोजगार युवालाई आत्मनिर्भर बनाउन सरकारी निकायसँग पहल गर्ने, सुदूरपश्चिमको भाषा, कला–संस्कृतिको संरक्षण, संवद्र्धनका साथै पर्या–पर्यटनमा जोड दिन आन्तरिक र बाह्य पर्यटक भित्र्याउन पहल गर्ने, आगामी छ महिनाभित्र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने र शिक्षा क्षेत्रको विकासका लागि शैक्षिक कोष स्थापना गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

तीस देशका १५० प्रतिनिधि सहभागी रहेको सम्मेलनले धनबहादुर बलायर (कतार)को अध्यक्षतामा कार्यकारी समिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर बम (युएई), प्रथम उपाध्यक्षमा श्रवज्ञ वाग्ले (अमेरिका), द्वितीय उपाध्यक्षमा भवन भट्ट (डेनमार्क), महासचिवमा अमृत शाही (कतार), सचिवमा रमेश भट्टराई (अमेरिका), कोषाध्यक्षमा सुमी शाही (इजरायल) र सह–कोषाध्यक्षमा भुवन प्रसाद भट्ट (भारत) चयन भएका छन् ।

यस्तै, महिला संयोजकमा मन थापा (नाइजेरिया), कलाकार संयोजकमा गंगादत्त गिरी (कतार), गल्फ संयोजकमा धर्मराज पाण्डेय (युएई), एसिया प्यासिफिक संयोजकमा ईश्वर धामी (कोरिया), दक्षिण एशिया संयोजकमा ज्ञानेन्द्र बहादुर सिंह (मलेसिया), उत्तर अमेरिका संयोजकमा करण चन्द (अमेरिका), सदस्यहरुमा गोरख चन्द (कतार) र नारायण चन्द (कतार) चयन भएका छन् ।

सम्मेलनमा सुदूरपश्चिमको विकास र सम्भावनाका विविध विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

Loading...