विप्लबको योजनामा पर्ने मान्छे म होइन- धमला

नेपालमा जनवादी राज्यसत्ता स्थापनाको कम्युनिष्ट माओवादी राजनीतिमा चालीस वर्ष क्रान्तिकारी राजनीति  गर्नुभएका प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य कुष्णप्रसाद धमला (गम्भीर)ले पार्टीका पछिल्ला सैद्धान्तिक र कार्यनीतिक नीति र विचारमा असहमति जनाउँदै पार्टी परित्याग गर्नुभएको छ । मंसिर ३ गते विज्ञप्ति जारी गर्दै उहाँले उक्त पार्टी परित्याग गर्दै स्वतन्त्र वामपन्थी रहँदै राजनीतिक जीवन अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नेपाल सरकारको कृषि मन्त्रालयमा नायब सुब्बा प्राविधिक सहायकको जागिरबाट राजीनामा दिएर वि.सं २०५३ सालमा भूमिगत हुनुभएका धमला जनयुद्ध कालमा रोल्पाको थवाङमा केन्द्रीय कृषि विभागका इन्चार्ज रहनुभयो । रोल्पा क्षेत्रमा कृषि क्रान्ति गर्ने क्रममा व्यवहारिक रुपमा आधुनिक पशुपालन र तरकारी खेती गर्न उहाँले प्रमुख भूमिका निर्वाह गर्नुभयो । पार्टीमा गम्भीरको उपनामले चिनिनुहुने कृष्ण धमलाले केही पत्रकारहरुलाई मंसिर ६ गते दिनुभएको अन्तर्वाता यहाँ प्रस्तुत गरिएको छ ।

तपाईं अहिलेसम्म कुनै पनि लाभको पदमा पुग्नुभएको छैन, के अब जोगी बन्ने हो र ?

होइन, राजनीति गर्ने भनेको लाभको पद लिन र भण्डार भर्नको लागि पक्कै होइन । हिजो सैद्धान्तिक राजनीतिक गरें । अब व्यवहारिक राजनीति गर्छु । राजनीतिसँगै घर व्यवहार पनि मिलाउनुप¥यो नि । सन्यासी नै बन्ने पक्कै होइन ।

राजनीति वितृष्णा किन जागेको ? जनयुद्धका १७ हजार सहिदको जिम्मा कसले लिन्छ, बेपत्ताको छानविन कस्ले गर्ने ?

जिम्मा सबैले लिनुपर्छ । निरपेक्ष हुने कुरा होइन ।

सुर्खेत जिल्लामा तपाईंको प्रतिष्पर्धी नै छैन, तर किन टिकट पाउनु भएन ?

जनवादी राज्यसत्ता प्राप्त गर्नको लागि संविधानसभाको निर्वाचनमा भाग लिनु अनिवार्य थियो । मैले पाउनै लाग्दा प्रत्यक्षमा अरुलाई दिएर उता पार्टी सञ्चालन पनि प्रभावकारी बनाउने भनिएकाले समानुपातिक सिटमा बसेको हुँ । पार्टी ठूलो हो भनेर पार्टीका हरेक निर्णय मान्दै गएँ । अनुशासनलाई मान्यौं । संघर्ष नै प्रधान मानें ।

भनेसि, यही कारणले स्वतन्त्र हुनुभएको तपाई, अब चुप लागेर बस्नुहुन्छ ?

राजनीतिमा सबै सम्भावना बोकेको हुन्छ । उतार चढाव हुन्छ । सम्भव नभएको कुरा सम्भव हुन पनि सक्छ । स्वतन्त्र वामपन्थी हुँदैमा चुप लागेर बस्ने कुरा आउँदैन । सँधै स्थायी शत्रुु र स्थायी मित्र हुँदैन । देश र जनताको सेव ागर्न राजनीतिमा होमेको मान्छेले बैग्ले किसिमले पनि राजनीति गर्न सक्छ ।

एकीकृत क्रान्तिको कार्यदिशा असफल भएको हो त ?

कुनै पनि सिद्धान्त ब्यवहारबाट सिद्ध हुने हो । त्यो अभ्यासको चरणमा रहेको छ । त्यो सही वा गलत भन्ने कुरा आगामी दिनले निश्चित गर्छ ।

विप्लबको कति संख्यामा सेना छ ?

क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग सेना हुनु जरुरी हुन्छ । तर मलाई यो विषयमा बोल्नुपर्छ जस्तो लाग्दैन । मिडियाबाजी र हल्ला धेरै भएका छन् ।

अब, कुन पार्टीमा लाग्नुहुन्छ त ? कि विप्लबकै योजनामा पार्टी छोडुनुभएको हो ?

मेरो त्यस्तो कुनै पनि रणनीति र रहस्य छैन । राजनीति बक्ररेखामा हुन्छ । सर्पको चालमा होइन भ्यागुताको उफ्राईको जस्तो चाल हुन्छ । विप्लबको योजनामा पर्ने मान्छे म पक्कै होइन । पार्टीका समग्र विषयमा असन्तोष जागेपछि स्वतन्त्र वामपन्थी बनेको छु । तपाईंले भनेझंै विप्लब समूहबाहेक अन्य क्रान्तिकारी पार्टीलाई समर्थन गर्न नसकिने होइन । तर तत्काल त्यो स्थिति छैन । पछि कुनै पार्टीसँग आवद्व पनि हुन सकिन्छ ।

पार्टीले किन कार्वाही ग¥यो तपाईंलाई ?

मलगायत कार्वाही गरेको होइन । पार्टीका धेरैजस्तो योजनाहरु चुहिएको भन्दै पार्टी चुस्त र दुरुस्त पार्न पार्टीमा शुद्धिकरण अभियान सञ्चालन गरेको हो । छमहिनाको लागि सबैको तह घटुवा गरेको यथार्थ हो । तर पाँचमहिनासम्म पनि कुनै पनि जिम्मेवारी र सम्पर्क रहिन । साथै, नेपाल कम्युनिष्ट पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रही क्रान्तिकारी आन्दोलन र वर्ग संघर्षको मोर्चामा नेतृत्व गर्दे आइरहेकोमा पार्टीका पछिल्लो योजना र समग्र विषयमा सहमति हुन सकिन । पुनः पार्टीले पोलिट््ब्युरो सदस्यको जिम्मेवारी दिन सक्थ्यो तर योजना र समग्र विषयमा नै असहमति भएपछि पार्टीसँग नाता कायम गराइराख्नु जायज भएन ।

तपाईंले काठमाडौंमा चन्दा लिएर कसरी घरसम्पत्ति थप्नुभयो भन्ने आरोप छ नि ?

म पार्टीको वरिष्ठ पोलिटब्युरो सदस्य । कँहीकतै अनुचित कार्य गरेको छैन । अवैध रुपमा घर किनेको छैन । त्यो वैध नै हो । मेरो पैतृक सम्पत्ति सुर्खेत रेडियो नेपाल भन्दा पश्चिममा जुम्ला राजमार्गसँगै ढलान घरसँगै दुईकठा दुई धुरको खेत एक करोड बीस लाखमा जुम्लाको व्यापारीलाई बेचेर यहाँ ८० लाखको घर किनेको तीनवर्षजति हुन लाग्यो । मैलै चन्दाको रुपमा एक पैसा पनि लिएको छैन । कतै अनुचित कार्य गरेको ठहर भए कार्वाही भोग्न तयार छु । त्यो चुनौती आरोप लगाउनेलाई दिन चाहन्छु । छोराहरु भन्डै बेपत्ताको स्थितिमा सेनाले पु¥याएको थियो । बरु मैले धेरै गुमाएँ । केही पाएको छैन । भएको पैतृक सम्पत्तिमा त्यसरी गिदेदृष्टि लगाउनु हुन्थेन ।

जोगी बन्नलाई होइन राजनीति भन्नुभयो, तर लाभको पदमा कतै जानुभएन , उल्तै भएका सम्पत्ति गुमाउनुभयो । एक हिसाबमा जोगी नै भइसक्नुभयो नि ।सुनिन्छ, आन्दोलनमा लागेर तपाईंको सुर्खेत, वीरेन्दनगरमा रहेका अन्य दुईवटा खेतहरु पनि गुमाउनुभयो रे, वास्तविकता के हो ?

जोगी बन्नलाई पक्कै होइन । जोगीको पनि त बनेको छैन । हो, मेरो बुलुबले ताल मन्तिर रहेको खेत र रेडियो नेपाल मुन्तिरको खेत आन्दोलनको दौरानमा घर व्यवस्थापन गर्दा गुम्न पुग्यो । म कृषि मन्त्रालयको कृषि सहायक प्राविधिक थिएँ । मैलै कमाएको आधा पैसा पार्टी सञ्चालनमै जान्थ्यो । जनयुद्ध शुरु भएपछि ५३ सालतिर मेरो घरमा छापा मारेपछि म जनयुद्धमा होलटाइमर भएर हिँडे । सोही क्रममा दुईवटा खेतहरु बेच्नुप¥यो । घर र घरसँगै रहेको खेत बेचेर आएको हुँ ।

तपाईंले सदस्यता दिनुभएका लेखराज भट्ट अहिले मन्त्री हुनुभएको छ । धर्मेन्द्र बास्तोला विप्लब समूहको उपल्लो तहमा हुनुहुन्छ । अहिले तपाईंलाई राजनीतिक वितृष्णा किन जागेको ?

हो, उहाँहरुले त्यो स्थानमा पुग्नु राम्रो हो । आ–आफ््ना व्यवस्थापन गर्नुभएको छ । त्यसमा म अति खुशी छु ।

विप्लब समूह किन उदाउन सकेन ?

हामीले पूरानै पाराले क्रान्ति उठाउन नसक्ने निष्कर्ष गर्दै राष्ट्रियता जनतन्त्र र जनजीविकाका अहम प्रश्नलाई समाधान गर्नको लागि पार्टीको कार्यदिशा एकीकृत जनक्रान्ति रोल्पाको थवाङबाट प्रतिपादन ग¥यौं । नयाँ कार्यदिशा भएन भने गन्तब्यमा पुग्न सकिंदैन । तर पछिल्ला निर्णय र योजनाहरु ब्यवहारिक रुपमा सफल हुन सकेन ।

परित्याग गरेको पार्टीका नेता विप्लब र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई के सुझाव दिनुहुन्छ ?

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई बधाई दिन चाहन्छु र उहाँलाई माओवादी कम्युनिष्ट आन्दोलनका मूल्य मान्यतालाई पूरा गर्दै राष्ट्रियता जनतन्त्र र जनजीविकाका अहम प्रश्नलाई समाधान गर्दै जाने अभिभारा झन्् थपेको छ । यही काबिलयत बुझेर उहाँले नेतृत्व गर्नुहुनेछ । सहयोद्धा प्रचण्डजीले जनतामा छाएको निराशालाई बुझेर जनताको मन जित्नुपर्छ र नेत्र विक्रम चन्दको नेकपालाई प्रतिबन्ध हटाएर, जेलमा परेका नेता कार्यकर्तालाई रिहा गरेर वार्ताको वातावरण बनाउन सकियो भने विप्लबजीको पार्टी पनि एकतामा आउन बाध्य हुन्छ ।

अन्त्यमा हामीले नसोधेको र तपाईंले भन्नुपर्ने केही धारणा छन् कि ?

अहिले लिपुलेक, लिम्पियाधुरा र कालापानीको सम्बन्धमा राष्ट्रियताको मुद्दा सबै पार्टी, सरकार र जनताको एकमत रहेकाले ओली सरकारले समाधान गरेर भूमि फिर्ता लिन जरुरी छ । समय दिनुभएकोमा तपाईंहरुलाई धन्यवाद ।

Loading...