लेखनाथको छातीमा यसरी उमारियो दसैका जमरा

पोखरा, १० असोज । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको कास्कीकोटस्थित गुप्तकालिका मन्दिर परिसरमा स्थानीयवासी लेखनाथ सुवेदीले छातीमा जमरा उमारेका छन् ।

गुप्तकालीका धार्मिक क्षेत्र विकास समितिद्वारा विश्व शान्तिको कामना गर्दै आयोजित नवदुर्गा महोत्सवका अवसरमा उहाँले निराहार तथा मौनव्रत बसेर छातीमा जमरा उमारेका हुन् ।

घटस्थापनाका दिनदेखि छातीमाथि टपरीमा उमार्नु भएको जमरा दशमीका दिन गुप्तकालिकालाई चढाइने तयारी भइरहेको समितिका अध्यक्ष दिलीप विक्रम शाहीले बताए ।

उनका अनुसार सप्तमीका दिन पोखराको रामघाटबाट भजन कीर्तनसहित फूलपत्रको डोली मन्दिरमा भित्र्याउनाका साथै सोही दिनमा लोपोन्मुख रहेको कुँवर जातिको सरुङ खेल प्रदर्शन गरिने परम्परा रहेको छ ।

सरुङ खेलमा सत्रौँ शताब्दीका ढाल, तरबार, नगरालगायत सामग्री प्रदर्शन गरिने बताउँदै उनले भने, “गुप्तकालीका मन्दिरमा तान्त्रिक तथा वैदिक पूजा हेर्न श्रद्वालु भक्तजनको बाक्लो उपस्थिति रहँदै आएको छ ।”

Loading...