समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक: मन्त्री थापा

काठमाडौँ, २७ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक रहेको बताएका छन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘दोस्रो समूहको अपरेसन कमाण्ड तथा नेतृत्व विकास तालीम समापन’ कार्यक्रममा उनले देशलाई कमजोर बनाउने तत्वलाई जरैदेखि फालेमात्र देश विकास हुने बताए ।

“सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण, लागुऔषध, मानव बेचबिखन र साइबर अपराधजस्ता गतिविधि देशलाई कमजोर बनाउने तत्व हुन्, यिनलाई निस्तेज बनाउनु जरुरी छ”, उनले भने। राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनीय बनाई व्यावसायिक ‘इन्टेलिजेन्स’ संस्थामा रूपान्तरण गर्न तालीमले सहयोग पुग्ने उनको भनाइ छ । गृहमन्त्री थापाले प्रशिक्षणले प्रशिक्षार्थीको विभिन्न ज्ञानको दायरालाई बढाउनुका साथै शारीरिक र मानसिकरूपमा सबल र स्वस्थ भई आत्मविश्वासमा वृद्धि गर्ने बताए ।

उनले गृहमन्त्रालयबाट लागू भएको गृह प्रशासन सुधार कार्ययोजना, २०७४ अन्तर्गतको ८२ बुँदे कार्ययोजनालाई अझ प्रभावकारीरूपमा कार्यान्वयन गर्नका निमित्त सबै सुरक्षा निकायको कार्यक्षमतामा अभिवृद्धि हुन जरुरी रहेको उल्लेख गरे । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षा चुनौतीको पहिचान गरी प्रभावकारी सूचना सङ्कलन र विश्लेषणद्वारा त्यस्ता चुनौतीलाई निस्तेज बनाउन महत्वपूर्ण जिम्मेवारी बहन गर्न अनुसन्धान अधिकृतको व्यावसायिक दक्षता र सीप राष्ट्रिय सुरक्षा र प्रभावकारी सेवा प्रवाहको लागि महत्वपूर्ण हुने बताए।

महानिरीक्षक खनालले राष्ट्रिय सुरक्षासम्बन्धी देखिएका चुनौतीको सामना गर्न अनुसन्धान अधिकृतमा सुरक्षा चुनौतीको मूल्याङ्कन गर्ने, सुरक्षा रणनीतिक एवं योजना निर्माण गर्ने र सम्बन्धित सुरक्षा निकायसँग प्रभावकारी समन्वय गर्नसक्ने क्षमता हुन अपरिहार्य रहेको बताए ।

राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले यस्ता प्रशिक्षणले सुरक्षा निकायबीचको ऐक्यबद्धता र सामूहिक भावनाको अभिवृद्धि हुने विश्वास व्यक्त गरे । पैँतालीस दिने तालीममा २० अनुसन्धान निर्देशकको सहभागिता रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिए ।

Loading...