भक्तपुर, ९ असोज । बडादशैँका लागि मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगो भएको छ ।
भक्तपुरको सल्लाघारी ल्याइपु¥याइएका भेडाच्याङ्ग्रा महँगो भएपछि उपभोक्ताको चापसमेत कम भएको छ । यस वर्ष यहाँका च्याङ्ग्रा प्रतिकिलो ६७५ देखि ७०० सम्म र भेडा प्रतिकिलो ६०० मा बिक्री भएको छ । मुस्ताङमै भेडाच्याङ्ग्रा महँगो भएकाले यस वर्ष ल्याइपु¥याएको च्याङ्ग्राको मूल्य पनि महँगो भएको सिन्धुपाल्चोकका व्यापारी रमेश खड्काले बताए ।
मुस्ताङको घार (बथान)मै एउटा च्याङ्ग्राको १५ हजारदेखि २२ हजारसम्म तिर्नुपरेकाले महँगो भएको उनको भनाइ छ । त्यसमाथि पनि जोमसोम, घासा र तातोपानीमा कर तिर्नुपरेको तथा ढुवानी खर्चसमेत बढी परेपछि महँगो भएको हो । सल्लाघारीमा करिब दुई हजार च्याङ्ग्रा र ७०० भेडा ल्याइएको छ ।
अर्का व्यापारी विष्णुभक्त श्रेष्ठले गत वर्ष प्रतिकिलो ६५० मा च्याङ्ग्रा र भेंडा करिब ५५० मा बिक्री गरिएको बताए ।
खसी र बोका भने यहाँ प्रतिकिलो ५०० मा बिक्री भइरहेको छ । विगतका वर्षमा भेडाच्याङ्ग्रा ल्याउनेबित्तिकै उपभोक्ताको भीड लाग्ने भए पनि यस वर्ष भने आजसम्म थोरै मात्र उपभोक्ता आएको व्यापारी श्यामभक्त श्रेष्ठले बताए ।